नेप्से स्थिर, व्यापार भने आधा घट्यो
साताको अन्तिम व्यापार दिन ३ माघ (बिहीवार) नेप्से परिसूचक स्थिर देखिएको छ। अघिल्लो दिनको तुलनामा ०.२० अंक मात्रै घटेर बिहीवार बजार बन्द भयो।
साप्ताहिक व्यापारमा भने नेप्से सूचक ७ अंक बढेको छ। गत साताको बिहीवार ११८० अंकमा रोकिएको नेप्से परिसूचक यो साता ११८७ अंकमा पुगेको छ। लघुवित्त, जलविद्युत् र ‘अन्य’ बाहेकका सबै समूहगत परिसूचक ओरालो लागेपछि समग्र नेप्से ऋणात्मक बाटोमा गएको हो। बिहीवारको व्यापारमा बीमा कम्पनीहरूको शेयर मूल्य बढी सस्तिएको छ।
अघिल्ला दिनमा जस्तै बिहीवार पनि शेयर बजारमा सबैभन्दा महँगिने कम्पनीको सूचीमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर सबैभन्दा अगाडि छ। कम्पनीको शेयर मूल्य ९.८९ प्रतिशत महँगिएको छ। अर्को जलविद्युत् कम्पनी जोशी हाइड्रोपावरको शेयर भने सर्वाधिक ९.६७ प्रतिशत सस्तिएको छ।
बिहीवार नेप्सेमा १६४ कम्पनीका ८ लाख ३५ हजार ८२६ कित्ता शेयर रु. २८ करोड ७७ लाख ५० हजारमा किनबेच भए। यो अघिल्लो दिनको कारोबारको तुलनामा झण्डै आधा हो। बुधवार नेप्सेमा १७ लाख ४४ हजार कित्ता शेयर रु. ५३ करोड ६ लाख ५१ हजारमा किनबेच भएको थियो।
परिसूचकसँगै कारोबार रकम पनि घट्नुले आउँदा दिनमा नेप्से थप ओरालो लाग्ने संकेत गर्छ। यसमा बजारमा माग घटेर खरीदकर्ताको अभाव भएको देखाउँछ। खरीदकर्ता घट्दा बजारमा शेयरको बिक्री चाप बढ्छ, जसले मूल्य अझै सस्तिन सघाउ पुग्छ। नेप्सेको रेखाचित्र विश्लेषणमा हालको स्थितिबाट बजार घट्न थालेमा नजिकको टेवाविन्दु ११७५ सम्म झर्नसक्ने देखिन्छ भने यही अवस्थाबाट बढ्न थालेमा ११९५ अंकमा प्रतिरोध सामना गर्नुपर्ने हुन्छ।