टिप्पणी आइतबार, पुस २९, २०७५

सक्षम शिक्षक र सबल नेतृत्व

हिमालखबर

शिशिर खनाल

गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षक अनिवार्य भए पनि उत्कृष्ट विद्यार्थीलाई शिक्षक बन्नका लागि न समाजले न त राज्यको नीतिले प्रोत्साहित गरिरहेकोे छ ।

टिच फर नेपाल को ‘कक्षाकोठामा एक दिन’ कार्यक्रमअन्तर्गत नेपालका लागि तत्कालीन अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ललितपुरको देवीचौरस्थित बुद्ध माविमा ।

हाम्रो सार्वजनिक शिक्षाको अवस्था निकै कमजोर छ । विद्यालयको तल्लो कक्षामा भर्ना दर सन्तोषजनक मानिए पनि तीमध्ये एकतिहाइ विद्यार्थी मात्र कक्षा दशसम्म पुग्छन् । एसईईमा उत्तीर्ण दर ५० प्रतिशतभन्दा कम छ । अझ् निजी विद्यालयको योगदान हटाउने हो भने यो दर ३० प्रतिशतको हाराहारी मात्र हुन्छ ।

यसो हुँदाहुँदै पनि टिच फर नेपाल को पछिल्लो पाँच वर्षको अनुभवले दक्ष र कटिबद्ध शिक्षक, सबल नेतृत्व तथा व्यवस्थापकीय सुधारले सार्वजनिक विद्यालयलाई निजी विद्यालयको प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने देखिएको छ ।

गुणस्तरीय सिकाइ
निजी र सरकारी विद्यालयबीचको भिन्नता एसईईको नतिजामा मात्र हैन शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गर्ने विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण नतिजामा पनि प्रष्ट हुन्छ ।

सन् २०१५ को कक्षा ५ को परीक्षणमा निजी विद्यालयका विद्यार्थीहरूको सिकाइ उपलब्धि ६०.८ हुँदा सरकारी विद्यालयहरूमा जम्मा ४४.५ मात्र रह्यो । त्यसैगरी अंग्रेजी विषयमा त यो फरक झन् बढी देखिन्छ ।

निजी विद्यालयहरूको अंग्रेजी कक्षामा सिकाइ उपलब्धि ७३ रहँदा सरकारी विद्यालयमा मात्र ३८ थियो । सरकारी विद्यालयका तल्लो कक्षाबाट नै देखिने यस्तो कमजोर सिकाइ उपलब्धिका कारण अभिभावकहरूमा निजी विद्यालयप्रतिको आकर्षण बढ्दो छ ।

सन् २०११ मा सरकारी विद्यालयमा ८७ प्रतिशत विद्यार्थीले पढ्ने गरेकोमा यो संख्या सन् २०१७ मा ८३ प्रतिशतमा झ्¥यो भने निजीमा १३ प्रतिशतबाट बढेर १७ प्रतिशत पुग्यो ।

कक्षाकोठाको सम्पूर्ण जिम्मा र नियन्त्रण शिक्षकको हातमा हुन्छ । यसअर्थमा गुणस्तरीय सिकाइको लागि दक्ष शिक्षक पहिलो शर्त हो । तर हालको सामाजिक र नीतिगत व्यवस्था राम्रो अध्ययन गरेका र विषयगत दक्षता भएका व्यक्ति, मूलतः विद्यार्थीलाई शिक्षण पेशाप्रति उत्प्रेरित गर्ने खालको छैन ।

एसएलसीपछि नै विषय र पेशा छुट्टिंदै जाने हाम्रो परिपाटीमा कमजोर शैक्षिक क्षमता भएकालाई मात्र शिक्षण पेशातर्फ धकेल्ने खालको व्यवस्था र आकांक्षा देखिन्छ । एसएलसीमा राम्रो नतिजा ल्याउने विद्यार्थीले विज्ञान र प्रविधि सम्बन्धी अध्ययन गरिदेओस् भन्ने घर, परिवार र समाजको अपेक्षा अद्यापि कायमै छ ।

यसको उल्टो शिक्षा संकायको अध्ययन सबैभन्दा कम अंक ल्याउनेका लागि खुला गरिएजस्तो भएको छ । त्यसैले शिक्षण पेशा सामाजिक रूपले कम सम्मानजनक र कम अवसर भएको पेशाको रूपमा हेरिन्छ । सानैदेखि राम्रो उपलब्धि हासिल गरेका विद्यार्थीलाई शिक्षक बन्न न समाजले न त राज्यको नीतिले प्रोत्साहित गरिरहेकोे छ ।

यस्तो अवस्था चिर्न टिच फर नेपाल ले २०७० साल देखि टिच फर नेपाल फेलोसिप कार्यक्रममार्फत ‘उत्कृष्ट’ नेपाली युवाहरूलाई सरकारी विद्यालयका स्वयंसेवी शिक्षकको रूपमा परिचालन गर्न थाल्यो ।

तर विडम्बना, पछिल्लो पाँच वर्षको टिच फर नेपाल को कार्यक्रममा सहभागी हुन दरखास्त भर्ने चार हजार युवामध्ये एक प्रतिशत मात्र शिक्षा संकायमा अध्ययन गरेकाहरू छनोट हुनसकेका छन् । अंग्रेजी, गणित विषय लिएर स्नातक वा स्नातकोत्तर गरेका धेरै युवा हामीले लिने विषयगत परीक्षामा उत्तीर्ण हुनसकेका छैनन् ।

यसले हाम्रा विश्वविद्यालयहरूको गुणस्तरमा प्रश्न उठ्छ । शिक्षण सिकाइमा अर्को महत्वपूर्ण पाटो सिकाइ विधि हो । हाम्रो सार्वजनिक शिक्षा ‘धावन्ति खेती, घोकन्ति विद्या’ को मान्यताबाट अघि बढ्न सकेको छैन । अधिकांश कक्षामा भाषण शैलीमा पढाइन्छ ।

हाम्रो सार्वजनिक शिक्षा ‘धावन्ति खेती, घोकन्ति विद्या’ को मान्यताबाट अघि बढ्न सकेको छैन। अधिकांश कक्षामा भाषण शैलीमा पढाइन्छ। विभिन्न क्रियाकलाप, शैक्षिक सामग्रीको प्रयोग, समूहमा सिक्ने वातावरण निर्माण नहुँदासम्म शिक्षाको गुणस्तर उकासिंदैन।

विभिन्न क्रियाकलाप, शैक्षिक सामग्रीको प्रयोग, समूहमा सिक्ने वातावरण निर्माण नहुँदासम्म शिक्षाको गुणस्तर उकासिंदैन । जबसम्म शिक्षक बनाउने तयारी कक्षाहरू परम्परागत रहन्छन, कण्ठस्थ पारिएको पाठ लेखेर परीक्षा उत्तीर्ण गर्ने परिपाटी रहन्छ तबसम्म विद्यार्थीलाई सिकाउने शिक्षकहरू पनि परम्परागत नै बन्छन् । तसर्थ शिक्षक बन्न सिकाउने पढाइ र सही शिक्षक छान्ने प्रक्रियामा आमूल परिवर्तन ल्याउन जरूरी छ ।

हाम्रो अनुभवले पनि दक्ष र प्रतिबद्ध युवाहरूलाई शिक्षण क्षेत्रमा आकर्षण गर्न सक्दा राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने देखिएको छ । टिच फर नेपाल को पहिलो दुई वर्षमा नै हामीले काम गर्ने ललितपुरका विद्यालयहरूमा एसईईको औसत उत्तीर्ण दर करीब ३७ प्रतिशतले बढ्यो ।

नेपालमा सरकारी विद्यालयहरूको औसत उत्तीर्ण दर ३३ प्रतिशत रहँदा टिच फर नेपाल बाट खटिएका स्वयंसेवी युवाले पढाएका विद्यालयमा यो दर ७४ प्रतिशतको हाराहारीमा पुग्यो । गत एसईई परीक्षामा टिच फर नेपाल का स्वयंसेवकहरू काम गर्ने विद्यालयमा कक्षा ११ पढ्न चाहिने न्यूनतम जीपीए (१.६) ल्याउने विद्यार्थी ९५ प्रतिशत थिए ।

स्वयंसेवक छनोट प्रक्रियामा विषयगत साथै अन्य क्षमतामा विशेष ध्यान पु¥याउँदा यो नतिजा प्राप्त गर्न सकिएको हो । सन् २०१४ देखि सन् २०१८ को बीचमा टिच फर नेपालमा परेका ४ हजार १४४ आवेदनमध्येबाट करीब ६ प्रतिशत मात्रै स्वयंसेवी छानिएका छन् ।

सबल नेतृत्व र सुदृढ व्यवस्थापन
दाङको तुलसीपुर नगरपालिका, रक्षाचौरमा रहेको गुरु जजुर मावि दाङमा कुनै बेला १० कक्षामा उत्तीर्ण प्रतिशत शून्य थियो । उच्छृंखल विद्यार्थीले भरिएको यो माविमा झैझगडा सामान्य थियो । तर आज यो विद्यालय तुलसीपुरको सबैभन्दा राम्रो सरकारी विद्यालयमा दरिएको छ ।

परिवर्तनको शुरूआत प्रधानाध्यापकको परिवर्तनसँगै भयो । विष्णुप्रसाद आचार्यले प्रधानाध्यापकको कार्यभार सम्हालेदेखि शिक्षक–शिक्षिकाको सहयोगमा विद्यालयमा विभिन्न सुधार गरे ।

विद्यालय र समुदायबीचको सम्बन्ध सुधारियो । दक्ष शिक्षकको दरबन्दी थपियो । नतिजा राम्रो हुँदै गएपछि अहिले गुरु जजुरमा विद्यार्थी संख्या झन्डै १५०० पुगेको छ । राम्रो मानिएको काठमाडौंको ज्ञानोदय मावि होस् या बुटवलको कालिका मावि, सबैको उत्कृष्टताको कारण प्रधानाध्यापकको नेतृत्व, विद्यालय व्यवस्थापन समिति र विद्यालय तथा समुदायको राम्रो सहकार्य नै देखिन्छ ।

२०६४ सालमा २५९ विद्यार्थी अध्ययन गरिरहेको काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित जनउद्धार माविमा २०७१ सालको चैतसम्म ११५ जना मात्र विद्यार्थी बाँकी रहे । विद्यालयले डाक्ने भेलामा अभिभावकको उपस्थिति न्यून हुन्थ्यो । सक्नेले आफ्ना केटाकेटी निजीमा लगे । प्रति शिक्षक १० जना विद्यार्थी रहँदा पनि जनउद्धारबाट ५० प्रतिशत विद्यार्थी मात्र एसईई उत्तीर्ण हुन्थे ।

यस्तो अवस्थामा टिच फर नेपाल का अलमनाई (दुई वर्षको सेवा अवधि पूरा गरिसकेका स्वयंसेवक) र थप केही स्वयंसेवकले विद्यालयको अवस्था सुधार्ने जमर्को गरे ।

व्यवस्थापन समितिसँग औपचारिक सहमति गरी वैशाख २०७२ देखि नयाँ कार्यक्रम बनाइयो । केही नयाँ र युवा शिक्षक निजी स्रोतबाट राखियो । विद्यालयमा नै शिक्षक तालिम दिइयो । शिक्षकको अनुपस्थितिमा पढाइमा असर नपरोस् भनेर सट्टा शिक्षक अनिवार्य गरियो । विद्यालयमा हुने छुट्टी कम गरियो । विद्यालय र समुदायको सम्बन्ध सुधारका लागि घरघरै जान थालियो ।

अहिले जनउद्धार माविमा विद्यार्थी संख्या २०६४ सालकै हाराहारीमा पुगेको छ । यसरी तीन वर्षको अन्तरालमा यो विद्यालयले ११३ प्रतिशतले विद्यार्थी संख्या मात्र बढाएको छैन गत वर्षको एसईई नतिजा अनुसार यो विद्यालय बूढानीलकण्ठ नगरपालिकाकै उत्कृष्ट सरकारी विद्यालय भएको छ ।

यही विद्यालयबाट एसईई उत्तीर्ण गरेका एक विद्यार्थीले हालै उच्च शिक्षा (११/१२ समानको) लागि जर्मनीको युनाइटेड वल्र्ड कलेजमा छात्रवृत्ति पाएका छन् । यस्तै सफलताको उदाहरण टिच फर नेपालका अलमनाईहरूले व्यवस्थापन सहकार्य गरिरहेको ललितपुरको भानुदय प्रावि र बूढानीलकण्ठ नगरपालिकाभित्रै पर्ने टोखा नजिकको मदन आश्रित आ.वि.मा पनि देखिन थालेको छ ।

शिक्षामा साँच्चिकै सुधारका लागि कुशल नेतृत्व र व्यवस्थापकीय सुधारसँगै शिक्षकको दक्षता र नेतृत्वको क्षमतामा जोड दिनुपर्छ ।

(शिशिर खनाल टिच फर नेपालका सह–संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् ।)

पढ्‍नुहाेस् । 

विदेशी विद्यालय पोस्ने सरकारी नियत !

विद्यालय शिक्षाः निजी गलाउने कि सरकारी सुधार्ने

निजी विद्यालयलाई निशाना नबनाऊ

प्रतिकृया दिनुहोस