समाचार विहीबार, पुस २६, २०७५

हुसेनलाई गोली हानी हत्या गर्ने ३ जना सार्वजनिक

हिमालखबर

सुनसरी दुहवी-९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने ३ जनालाई प्रहरीले २६ पुसमा सार्वजनिक गरेको छ। हुसेनलाई गत ५ मंसीरमा 'मर्निङ वाक'का क्रममा जयबाबा इँटा उद्योग नजिकै नहरको डिलमा गोली हानी हत्या गरिएको थियो।

उनको हत्याका मुख्य योजनाकार मानिएका दुहवी-९ छाताबेलीका मोहम्मद सकिम हुसेन (२८), हत्याको योजनामा संलग्‍न तथा सहयोगी मोहमद जाविर हुसेन (३१) र हत्यामा प्रयोग भएको हतियार लुकाउन सहयोग गरेका लक्ष्मीनारायण मन्दिरका पुजारी दुहवी-१२ सीतापुरका विशम्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो।

सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार मोहम्मद सकिम हुसेनलाई घर नजिकै हिँडिरहेका अवस्थामा पक्राउ गरिएको थियो। यस्तै, जाविर हुसेनलाई कोशी गाउँपालिका-८ भण्टाबारीबाट र पुजारी यादवलाई घरबाटै २५ पुसमा पक्राउ गरिएको हो।

गोली प्रहार गर्नेमध्येका मुसरी भनिने दुहवी-९ का जफर मियाँ (२२) लाई बाँके प्रहरीको सहयोगमा पक्राउ गरी सुनसरी ल्याइँदै गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। पक्राउ परेकाहरूको बयानका आधारमा फिदाको हत्यामा प्रयोग गरिएको कटुवा पेस्तोल खोकासहितको एक थान, त्यसमा लाग्‍ने गोली दुई राउण्ड र डाइगर (चक्कु) एक थानसमेत बरामद भएको प्रहरीले जनाएको छ।

हत्यापछि दुहवी-१२ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नरिवलको बोट नजिक गाडेर राखेको अवस्थामा हतियार बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। प्रारम्भिक बयानका क्रममा हत्या सुनियोजित र रिसइवीका साथै आर्थिक लेनदेनका कारण भएको खुलेको प्रहरीले जनाएको छ। हत्यामा अन्यको समेत संलग्‍नताको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। रासस

प्रतिकृया दिनुहोस