इतिहास रच्दै नेपालले जित्यो सोलिडारिटी कप (भिडियो)
एएफसी सोलिडारिटी कप नेपालले जितेको छ । मलेसियामा ३० कात्तिकमा मकाउलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले महादेशीय उपाधि पहिलो पटक जितेको हो ।
टीम नेपालका लागि एक मात्र गोल भरत खवासको पासमा सुजल श्रेष्ठले ३० औं मिनेटमा गरे । शुरुदेखि अन्तिमसम्म नेपालले आक्रमक खेले पनि थप गाेल भने हुन सकेन ।
टीम नेपालको लगातार अपराजित यात्रा आठ पुगेको छ । यसअघि नेपालले बंगबन्धु गोल्ड कप र साग उपाधि जितेको थियो ।
प्रतियोगितामा विश्वकप २०१८ र एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरु सहभागी थिए । एसियाली फुटबल महासंघ (एएफसी)ले पहिलो पटक सोलिडारिटी कप आयोजना गरेको हो ।
लिस्टे टिमोरसँग गोल रहित बराबरी खेलेको टीम नेपाल ब्रुनाईलाई ३–० गोलले पराजित गरेर सेमिफाइनल पुगेको थियो । फाइनल प्रवेशका लागि लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको थियो ।
टीम नेपालको पहिलो ११ जनाः किरण चेम्जोङ, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, विक्रम लामा, विमल घर्ती मगर, सुजल श्रेष्ठ, अन्जन विष्ट, नवयुग श्रेष्ठ र भरत खवास ।
टीम नेपालका बाँकी खेलाडीः विकेश कुथु, दिपक गुरुङ, विशाल राई, रञ्जन विष्ट, अनिल गुरुङ, हेमन गुरुङ, कमल श्रेष्ठ, सुमन लामा, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, राजेन्द्र रावल र रन्जित धिमाल ।