चिनी र उखु उत्पादकबीच सहमति, उद्योगहरू चल्ने निश्चित
उखु किसान र चिनी उत्पादक उद्योगीहरूबीच २५ पुस राति उखुको मूल्यमा सहमति कायम भएको छ। सहमति नहुँदा किसानको उखु खेतमै सुक्न लागेका थिए।
महोत्तरीको बर्दीवासमा चिनी उत्पादक संघ तथा उखु उत्पादक महासंघ र उखु उत्पादक विभिन्न जिल्ला समितिका पदाधिकारीहरूबीच भएको वार्तामा सहमति जुटेको हो। त्यसअनुसार सरकारले चालू आर्थिक वर्षका लागि तोकेको प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसामा खरीद-बिक्री गर्ने सहमति भएको हो।
यसअघि सरकारले तोकेको मूल्यमा उखु किन्न नसकिने उद्योगीहरूले बताउँदै आएका थिए। वार्तामा चारबुँदे सहमति भएको उखु उत्पादक संघ रौतहटका सचिव सफिन्द्रप्रसाद यादवले बताए।
सरकारले निर्धारण गरेको मूल्यमा उद्योगले उखु खरीद गर्ने, ३० देखि ४५ दिनमा तालिका निकालेर भुक्तानी दिने, किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने र उद्योगपति तथा किसान मिलेर सरकारलाई चिनी उचित मूल्यमा बिक्री-वितरण गराउन दबाब दिने सहमति भएको हो।
बन्द रहेका चिनी मिलहरू उक्त सहमतिपछि केही दिनमै सञ्चालनमा आउने भएका छन्। यसबाट उद्योगी र किसान दुवै पक्ष हर्षित भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताए।
सञ्जय मित्र, रौतहट