नेपाल र जापानबीचको हवाई सम्झौता कार्यान्वयनमा
नेपाल र जापान सरकारबीच भएको नयाँ हवाई सम्झौता कार्यान्वयनमा आएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी समकक्षी तारो कोनोले २५ पुस साँझ कूटनीतिक पत्र आदानप्रदान गरेपछि २ साउन २०७५ मा गरिएको हवाई सम्झौता कार्यान्वयनमा आएको हो।
नयाँ ‘रुट सेड्युल’ कार्यान्वयनका लागि नेपाल र जापान सरकारबीच कूटनीतिक पत्र आदानप्रदान हुनुपर्ने सम्झौता छ।
२०४९ सालमा पहिलो पटक दुई मुलुकबीच भएको हवाई सम्झौतामा जापानको ओसाका विमानस्थलमा साताको दुई उडान मात्र गर्न पाउने व्यवस्था थियो। नयाँ सम्झौताले हानेदाबाहेकका सबै विमानस्थलमा साताको १४ उडान गर्न पाउने व्यवस्था गरेको छ।
यस्तै, नेपालका वायु सेवा कम्पनीले सीधै या चीन र हङकङ भएर पनि जापान उडान गर्न सक्ने व्यवस्था नयाँ सम्झौतामा छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालका अनुसार जापानको कानूनअनुसार कूटनीतिक पत्र आदानप्रदानपछि मात्र नयाँ सम्झौता कार्यान्वयनमा आउँछ।
नेपाल वायु सेवा निगमले आगामी माघबाट ओसाका विमानस्थलमा उडान अनुमति माग गर्दै आवेदन दिएको छ। कूटनीतिक पत्र आदानप्रदानपछि नेपालका कुनै पनि एयरलाइन्सले जापानको हानेदाबाहेकका विमानस्थलमा उडान गर्न पाउनेछन्।
जापानको नारिता विमानस्थलमा उडान गर्ने योजना बनाएको निगमलाई कूटनीतिक पत्र आदानप्रदानले प्रकृया थाल्न सहज भएको छ।