१५ माघदेखि क्यान इन्फोटेक हुने
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले १५ माघदेखि काठमाडौंमा ‘सुबिसु क्यान इन्फोटेक–२०१९’को आयोजना गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने मेला २० माघसम्म चल्नेछ । ‘नयाँ प्रविधिको अवलोकनसँगै जागिरको अवसर’ नाराका साथ हुने मेलामा विश्वबजारमा भर्खरै भित्रिएका प्रविधि र उपकरणको अवलोकन तथा खरीद गर्न सकिने छ ।
मेलामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतको क्षेत्रमा प्रयोग हुने प्रविधि समेत समावेश गर्ने हुने क्यानले जनाएको छ ।
यसपटकको मेलामा प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेलामै आफ्नो व्यक्तिगत विवरण बुझाउन सक्नेछन् । क्यानले ती विवरणलाई प्रविधिको क्षेत्रमा काम गरिरहेका विभिन्न कम्पनीसम्म पुर्याउने र रोजगारीका लागि आवश्यक सहजिकरण गर्ने जनाएको छ ।
१७५ वटा स्टल रहने मेला प्रवेश शुल्क १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । अनलाइनबाट टिकट किन्नेहरुले भने १० प्रतिशत छूट पाउनेछन् ।