दुई सातापछि नेप्से ‘हरियो’, साढे ६ अंकको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करीब दुई साताको व्यापारपछि पहिलो पटक बढेर बन्द भएको छ। २३ पुसमा नेप्से ६.६७ अंक बढेर ११७७.४६ अंकमा पुगेको छ।
११ पुसमा १२१६ अंकमा पुगेको नेप्से त्यसयता लगातार घटेर २२ पुसमा ११७० अंकमा झरेको थियो। करीब ४६ अंकको गिरावटपछि २३ पुसमा नेप्सेले रङ बदलेर ‘हरियो’ देखिएको हो।
उत्पादन तथा प्रशोधन र ‘अन्य’बाहेकका सबै समूहगत परिसूचक उकालो लागेपछि २३ पुसको व्यापारमा नेप्सेको सूचकांक उक्लिएको हो। यस दिन जीवन बीमा, निर्जीवन बीमा र होटेल समूहका परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेका छन्।
यसको मतलव बीमा क्षेत्रमा थुप्रै नयाँ कम्पनी आए पनि उनीहरूले साधारण शेयर जारी नगरिसकेकाले अहिले पनि विगतमा जस्तै बीमा कम्पनीको शेयरमा बढी आकर्षण देखिएको छ। लगानीकर्ताहरूले लगानीको क्षेत्रगत विविधीकरण गर्न थालेकाले कम शेयर भएको बीमा समूहमा आकर्षण बढेको हो।
२३ पुसमा नेपाल ब्यांकको शेयर सर्वाधिक ८ करोड ५९ लाखको व्यापार भयो। एनसीसी र प्रभु ब्यांक, नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्सको पनि १ करोडभन्दा बढीको शेयर कारोबार भयो।
यसबाट लगानीकर्ताको चासो कुन-कुन कम्पनीमा बढी छ भन्ने देखिन्छ। यस दिन हाथवे फाइनान्स कम्पनीको शेयरमूल्य ६.६७ प्रतिशतले बढेको छ। त्यसपछि धेरै कमाउने कम्पनीको सूचीमा सिनर्जी पावर कम्पनी (६.५२ प्रतिशत) छ। शेयर सस्तिने कम्पनीको सूचीमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था अगाडि देखिएको छ, जसको शेयर मूल्य ३.७२ प्रतिशत सस्तिएको छ।
२३ पुसमा नेप्सेमा १४८ कम्पनीका ९ लाख १४ हजार २३९ कित्ता शेयर रु. ३० करोड १९ लाख ८७ हजारमा किनबेच भए।