समाचार सोमबार, साउन २४, २०७३

राष्ट्र र जनताले सम्झने काम गर्छुः प्रधानमन्त्री दाहाल

हिमालखबर

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, भूकम्पपछिको पुनःनिर्माणलगायतका महत्वपूर्ण कार्यभार रहेकाले ती काम पूरा गरेर छाड्ने बताए ।

“अघिल्लोपटक नौ महिनामा नै सरकार छोड्नुपर्ला भन्ने लागेको थिएन, त्यसैले समयमा धेरै काम गर्न सकिएन, तर यसपटक राष्ट्र र जनताले युगौंसम्म सम्झनलायक काम गर्छु र मुलुकलाई एकताबद्ध बनाएर लैजान्छु,” प्रधानमन्त्री दाहालले भने । 

प्रधानमन्त्रीले संविधानमा असन्तुष्टि जनाउँदै आएका दलको सहमतिमा संविधानको संशोधन, कार्यान्वयन, तीनवटा निर्वाचन सम्पन्न, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको बताए । 

“मुलुकले आर्थिक समृद्धिको खाका खोजेको छ । त्यसका लागि परिणामुखी काम गर्ने पक्षमा छु । सबैको साथ र सहयोग रहोस् भन्ने कामना पनि गर्दछु ।” उनले भने ।  

आफ्नो जन्म गाउँ ढिकुरपोखरीले शैक्षिक क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै प्रम दाहालले आधारभूत पूर्वाधार निर्माण र प्राविधिक क्षेत्रमा सहयोग उपलब्ध गराउने उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

ढिकुरपोखरीका अगुवा एवम् समाजका पदाधिकारीले आगामी निर्वाचनमा कास्की क्षेत्र नं ४ बाट निर्वाचनमा उठ्न अपिल गर्दै पोलिटेक्निकल कलेज, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए ।

रासस 

 

प्रतिकृया दिनुहोस