प्राविधिक र नीतिगत सुधारले पनि उकास्न सकेन शेयर बजार
‘मार्जिन ल्याण्डिङ’मा राष्ट्र ब्यांकको पर्याप्त खुकुलोपना, लगानीकर्ताले खोजेजस्तै नीतिगत सुधार र ‘ब्यांक इण्टिग्रेशन’ले पनि शेयर बजारलाई अपेक्षित बढोत्तरीको बाटो समात्न हिम्मत दिएन।
प्रविधि र कर्जा नीतिमा भएको सुधारले पनि नेपाली शेयर बजारमा उत्साह सृजना गर्न सकेन। १७ पुसमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.३६ अंक घटेर ११८५.९१ अंकमा झरेको छ।
व्यापारको शुरुआती समयमा उकालो लागेको शेयर बजार मध्यान्ह १२ बजे ११९६ अंकमा पुगे पनि त्यसपछि लगातार घट्ने क्रममा देखियो। बीचमा बढ्ने प्रयास गरे पनि सफल भएन र अघिल्लो दिनको अन्तिम विन्दुलाई नभेट्टाउँदै बजार बन्द भयो।
नेप्सेले १७ पुसबाटै आफ्नो अनलाइन कारोबारको प्रणालीलाई पूर्णता दिँदै ‘ब्यांक इण्टिग्रेशन’ गरेको थियो। २० कात्तिकदेखि अनलाइन कारोबार शुरु गरिएको भए पनि यसअघि लगानीकर्ताले शेयर किनबेच गर्दा पैसा भुक्तानी लिन वा दिन ब्रोकर कम्पनीमा धाउनुपर्ने अवस्था थियो। यसले गर्दा अनलाइन कारोबारप्रति लगानीकर्ताको चासो बढ्न नसकेको नेप्सेका ब्रोकरहरूले बताउँदै आएका थिए।
हुन पनि, सीडीएसी एण्ड क्लियरिङ लिमिटेडमा १४ लाख २१ हजार ८९७ हितग्राही खाता खुलेकामा अनलाइन कारोबार शुरु भएको २ महीना बित्दासम्म करीब ६०० लगानीकर्ताले मात्रै अनलाइन कारोबारका लागि ‘लग इन’ लिएका थिए। त्यसमध्ये पनि बढीमा २० जनाले मात्रै सक्रिय रूपमा अनलाइन सेवाको उपयोग गरेको नेप्सेले बताएको थियो।
तर, १७ पुसदेखि ब्रोकर कम्पनी धाउने हैरानी खेप्नु नपर्ने गरी नेप्सेले चार वटा वाणिज्य ब्यांकलाई ‘क्लियरिङ ब्यांक’ तोकेर शेयर कारोबारको राफसाफ फर्स्योट गर्ने खाता सञ्चालन गर्न अनुमति दिएको छ। अब लगानीकर्ताले नेपाल इन्भेष्टमेण्ट, ग्लोबल आइएमई, प्रभु र सिद्धार्थ ब्यांकमध्ये कुनै एउटामा खाता खोलेर सोहीमार्फत् शेयर कारोबार गर्न सक्ने भएका छन्।
यसअघि अनलाइन कारोबार शुरु गर्दा ब्यांक इण्टिग्रेशन नभएको बताउँदै त्यसको प्रभावकारिता नहुने बताउँदै आएका ब्रोकर र लगानीकर्ताका लागि सेवा सुधार गर्दा पनि उत्साह बढाउन नसकेको नेप्सेको तथ्यांकले देखाएको छ। यसबाहेक लगानीकर्ताको हित र उनीहरूको मनोबल सुधारका लागि भन्दै अर्थ मन्त्रालयले २० मंसीरमा गठन गरेको अध्ययन समितिको सिफारिस बमोजिम नै नेपाल राष्ट्र ब्यांकले कर्जा नीतिलाई खुकुलो बनाइसकेको छ।
राष्ट्र ब्यांकले ११ पुसमा परिपत्र जारी गर्दै शेयरको धितोमा प्रवाह हुने कर्जाको अधिकतम सीमा, कर्जा र सुरक्षणबीचको अनुपात, मार्जिन कलको व्यवस्थालगायत संशोधन गरेर शेयर बजारमा प्रवाह हुने कर्जालाई निकै खुकुलो बनाएको थियो। धितोपत्र दलालहरूलाई मार्जिन ट्रेडिङ गर्ने सुविधा दिइएको थियो। ब्यांकहरूलाई धितोपत्र दलालका रूपमा काम गर्न केन्द्रीय ब्यांकले बाटो खोलिदिएको थियो। यस्ता सुधारका बावजुद शेयर बजार उकालो लाग्न सकेको छैन।
अर्थ मन्त्रालयले राष्ट्र ब्यांकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्नुअघि अर्थात् १९ मंसीरमा पछिल्लो बियरिशको न्यूनतम विन्दु १११८ अंकमा झरेको बजार राष्ट्र ब्यांकले शेयर बजारप्रति नीतिगत खुकुलोपना अपनाएको दिन (११ पुस) सम्म ९८ अंक बढेर १२१६ अंकमा पुगेको थियो। त्यसयता शेयर बजार घट्दो अवस्थामै देखिएको छ। यसले नेप्सेको बियरिश बाटो अझै लामो हुनसक्ने सम्भावनालाई इंगित गर्छ।
शेयर बजारको अल्पकालीन रेखाचित्र विश्लेषण गर्दा पनि ‘हेड एण्ड सोल्डर’ आकृति तयार गर्न लागेजस्तो देखिएको छ। ५ पुसयताको बजारको रेखाचित्रले यस्तो आकृति बन्नसक्ने देखाएको छ। अब नेप्से करीब १२ अंक बढेर घट्न थाल्यो भने यो आकृति पूरा हुन्छ। त्यसपछि नेप्सेको सूचक ११६२ अंकभन्दा तल झर्यो भने शेयर बजार अझै ओरालो लाग्दैछ भन्ने ‘प्रविधिक पुष्टि’ हुन्छ।
१७ पुसको व्यापारलाई मात्रै आधार मान्दा पनि नेप्से ओरालो लाग्नसक्ने देखिन्छ। १८ पुसको व्यापारमा भने नेप्से सुधारको दिशामा जानसक्ने सम्भावना बढी छ। १७ पुसमा नेप्सेमा १५६ कम्पनीका ६ लाख ८९ हजार ७२० कित्ता शेयर रु २२ करोड ८५ लाख ४३ हजार ४१५ मा किनबेच भएका छन्। यस दिन लघुवित्त र जीवन तथा निर्जीवन बीमा समूहका परिसूचक उकालो लागे। बाँकी सबै समूहगत परिसूचक ओरालो लागेपछि समग्र नेप्सेलाई ऋणात्मक बनाएको हो।
१७ पुसको व्यापारमा कालिका लघुवित्तको शेयर सबैभन्दा बढी ९.९१ प्रतिशत महँगियो भने सांग्रिला डेभेलपमेण्ट ब्यांकको शेयर सर्वाधिक २.९८ प्रतिशत सस्तियो। कारोबार रकमको हिसाबले यस दिन नेपाल लाइफ इन्स्योरेन्स (रु. १ करोड २१ लाख ७ हजार ९२८) सबैभन्दा अघि देखिएको छ।