नेपाली पर्यटन बजारलाई मन्त्री अधिकारीले गरे नोकियासँग तुलना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपालको पर्यटन बजारलाई नोकिया मोबाइलसँग तुलना गरेका छन्।
“एक समय नोकिया मोबाइललाई कसैले जित्न सक्दैन भन्ने थियो। आज बजारमा नोकिया मोबाइल नपाइने अवस्था छ,” नेपाल पर्यटन बोर्डको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भने, “हामीले नेपाल सुन्दर छ भनेर मात्रै हुँदैन। काम गराइमा परिवर्तन गर्न नसके हाम्रो पर्यटन बजारको अवस्था त्यस्तै हुन सक्छ।”
पर्यटन बजार र पर्यटकको बदलिँदो मागअनुसार बोर्डले पर्यटन प्रबर्द्धनका कार्यक्रमहरू विकास गर्नुपर्ने उनको भनाइ थियो। २० वर्षभित्र पर्यटनलाई नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्रका रूपमा विकास गरिने मन्त्री अधिकारीले बताए।
पर्यटन प्रबर्द्धनका लागि सरकारले २०५५ सालमा निजी क्षेत्रको सहभागितामा बोर्ड स्थापना गरेको थियो। बोर्डले नेपालका पर्यटकीय गन्तव्य प्रबर्द्धन गर्ने काम गर्दै आएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्ष २०२० लाई लक्षित गन्तव्य प्रबर्द्धनात्मक काम शुरु गरिएको जानकारी दिए। भैरहवा विमानस्थलको सञ्चालन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार भए सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन कठिन नहुने उनको भनाइ थियो।