रिपोर्टसोमबार, २४ श्रावण , २०७३

घाइतेको पैसामा अस्पताल र नेताकोे मोज

रामु सापकोटा

मधेश आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोरे पनि रकममा अस्पताल र मधेशी मोर्चाका नेता–कार्यकर्ताले मोज गरिरहेका छन् ।

मधेश अान्दोलनका क्रममा घाइते भएका महुवन- ७ पर्साका पन्नालाल यादव । तस्वीर: सुरेश बिडारी

मधेश आन्दोलनका क्रममा दायाँ खुट्टामा गोली लागेका महुवन–७ पर्साका पन्नालाल यादव (३५) को घाउ अझै निको भएको छैन । उनी हरेक दुई महीनामा ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल धाइरहेका छन् । गोलीले उनको दायाँ घुँडाभन्दा माथिको हड्डी फुटाएर चार टुक्रा बनाएको छ । आफूलाई १४ भदौ २०७२ को साँझ् चार बजेको प्रदर्शनमा वीरगंजको राधामाई चोकमा गोली लागेको उनी बताउँछन् ।

गोली लागेर सिकिस्त बनेका यादवलाई मधेशी मोर्चाले शुरूमा वीरगञ्जकै नारायणी उपक्षेत्रीय अस्पताल र भोलिपल्ट राजधानीको वीर अस्पताल ल्याएर भर्ना ग¥यो । वीरमा ४२ दिनसम्म उपचार गर्दा घाउ निको हुनुको साटो संक्रमण फैलिएको उनी बताउँछन् ।

चिकित्सकको हेलचेक्र्याईंले संक्रमण फैलिएर बिजोग भएको उनले बताए । त्यसपछि उनी निजी अस्पताल बी एण्ड बीमा गए । “त्यहाँका डाक्टरहरूले घुँडामा रड राखिदिए”, यादव भन्छन्, “त्यसबेलासम्म घाउको संक्रमण मिर्गाैलासम्म फैलिएकोले पानी पनि खान नसक्ने अवस्थामा थिएँ ।”

वीरगञ्ज–काठमाडौं एम्बुलेन्स खर्चसहित वीर र बी एण्ड बीमा उपचार गर्दा रु.११ लाख खर्च भएर आफू आर्थिक रूपमा सिद्धिएको यादव बताउँछन् । उनको उपचारका लागि सरकारले गृह मन्त्रालयमार्फत उपलब्ध गराएको रकम चाहिं मधेशी मोर्चाका नेता–कार्यकर्ताले लिएको भेटिएको छ ।

मोर्चाबाटै पीडित
१ चैत २०७२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रादेशिक सीमांकनको विषयमा तराई–मधेशमा भएको आन्दोलनका १९ जना घाइतेलाई उपचारको लागि रु.३० लाख २१ हजार ७२६ दिने निर्णय गर्‍यो । गृह मन्त्रालयले ब्यांकमार्फत घाइतेहरूका लागि रकम निकासा गरेको थियो ।

घाइते यादवले व्यक्तिगत बिलको आधारमा एभरेष्ट ब्यांकबाट रु.१ लाख ८९ हजार १०९ पाए । तर, उनले ब्यांकबाट निकालेको रकम सद्भावना पार्टीका रञ्जित सिंह र तराई–मधेश लोकतान्त्रिक पार्टीका चन्द्रकान्त झाले लिएको बताउँछन् ।

उनका अनुसार, पार्टीका नेता–कार्यकर्ताले घाइतेको उपचारमा पहिला पार्टीको खर्च भएको भन्दै पैसा लगेका हुन् । मोर्चाका नेता–कार्यकर्ताले १९ जना घाइतेको उपचार गर्दाको बिल सीधै गृहमा बुझाएर रकम लिन खोजेकोमा मन्त्रालयले पीडितको खातामा पठाएको थियो ।

त्यो रकम मोर्चाका नेताहरूले लिएपछि वीरगञ्जदेखि बी एण्ड बीसम्म लागेको खर्च जग्गा धितोमा राखेर तिर्नुपरेको यादव बताउँछन् । बी एण्ड बीले उनको उचारबापत गृह मन्त्रालयबाट पनि रु.२ लाख ३९ हजार ४६३ लिएको छ ।

गृह मन्त्रालयका अधिकारीहरू कतिपय अस्पतालले मधेश आन्दोलनका घाइतेहरूको उपचार गरेको भन्दै फर्जी बिल पेश गरेको बताए । त्यस्तै, घाइतेको उपचार खर्च लिन चाहने मधेशी मोर्चाका नेता–कार्यकर्ताले मन्त्रालय धाएर हैरान पारेको गृह मन्त्रालयको लेखा शाखाका कर्मचारीहरू बताउँछन् ।

रौतहटको बीपी चोकमा गोली लागेर घाइते भएका टिकुलिया–६ गौरका लालबाबु पटेलले पाउनुपर्ने रु.५ लाख २२ हजार लिन उनले ठूलै विवाद गर्नुपरेको थियो । पटेल भन्छन्, “सद्भावना पार्टीका कार्यालय सचिव राजेश चौधरीले मेरो नाममा मन्जुरीनामा गरेर गृहबाट रकम लिन खोजेपछि केही समय विवाद भयो ।”

यादवका अनुसार अन्य घाइतेको नाममा आएको रकम पनि चौधरीले मन्जुरीनामा गरेर लिएका छन् । बायाँ पेटमा गोली लागेका उनले एक महीनासम्म वीर अस्पताल बसेर उपचार गर्नु परेको थियो ।

अस्पतालहरूको बिल धन्दा

सरकारले घाइतेको उपचारमा लागे जतिको रकम दिने भनेपछि अस्पतालहरूले एउटै बिरामीको एउटै परीक्षण पटक–पटक गरेको देखाएर स्वास्थ्य मन्त्रालयमा बिल पेश गरे । उपचार खर्च बापतको रकम दिने कार्यविधि र सीमा नतोकिंदा अस्पतालहरूलाई फर्जी गर्न सजिलो भएको हो । सुशील कोइराला र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरे पनि यस सम्बन्धी कार्यविधि बनेन ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयलाई गत १९ फागुनमा पत्र पठाएर मधेश आन्दोलनका ३३ जना घाइतेको उपचार गर्दा लागेको कुल रु.३४ लाख ४१ हजार ५०३ शोध भर्ना मागेको छ । ‘औषधि उपचार खर्च शोधभर्ना सम्बन्धी’ पत्रमा अस्पताल शुल्क बापत छुट्टै रु.५ लाख ३९ हजार ४९२ र औषधिको रु.२९ लाख २ हजार ११ माग गरिएको छ ।

बीपी कोइराला अस्पतालले एउटा बिरामीलाई एकै दिन आठ पटक एक्सरे गरेको र इन्जेक्सन दिएको खर्च शोधभर्ना मागेको भेटिएपछि मन्त्रालयले ७ असारमा पत्र पठाएर उपचार विवरणको आधार पुष्टि गर्न भनेकोमा अस्पतालका डेपुटी निर्देशक डा. पशुपति चौधरीले आईसीयूमा भर्ना भएका बिरामीहरूको विभिन्न जाँच/परीक्षण गर्नुपर्ने भएकाले एकै दिन तीन/चार पटक बिल काटिएको जवाफ लेखेका छन् ।

मधवापुर–४ सप्तरीका घाइते रघु सफीलाई डेढ महीना आईसीयूमा राखेर एकै पटक निःशुल्क फारम स्वीकृत गराई बिल काट्दा त्यस्तो हुन गएको अस्पतालको जवाफ छ । अस्पतालले सफीको औषधि उपचार बापत रु.११ लाख २८ हजार ८१८ खर्च लागेको भन्दै शोध भर्ना मागेको छ ।

अस्पतालले पठाएको एउटै बिलमा एकै दिन चार पटक सफीको ‘क्रिटिनाइन’ जाँच, ‘ब्लड कल्चर’ र ‘सीबीसी’ गरेको देखिन्छ । चार पटक गरेको तीनैथरीको जाँचको बिल नम्बर एउटै छ । अस्पतालले सफीलाई एकै दिन आठ पटक १० एमजीको ‘मर्फिन’ इन्जेक्सन दिएको बताएको छ । अस्पतालले एउटा घाइतेको एकै दिन ६ पटक एक्सरे गरेको बताएको छ ।


बीपी अस्पतालले सफीलाई एक दिन आईसीयूमा राखेको रु.७७ हजार ५०० शोधभर्ना दाबी गरेको छ । जबकि, आईसीयूको दैनिक बेड चार्ज रु.३५०० मात्र हो । अस्पतालले जनरल बेड चार्ज दैनिक रु.३०० तोके पनि सिरहाका घाइते बद्री रामको एक दिनको जनरल बेड चार्ज रु.५ हजार लागेको भन्दै स्वास्थ्य मन्त्रालयमा रकम माग गरेको छ । अस्पतालले माग दाबी गरेको विषयलाई पत्याएर मन्त्रालयले भने रकम निकासा गर्न अर्थ मन्त्रालयलाई सहमति दिइसकेको छ ।


यता, गृह मन्त्रालयले आन्दोलनका घाइते भोगेन्द्र यादव, मान्सी राउत र रूपेश पासवानको उपचार गरेको सुष्मा कोइराला मेमोरियल अस्पतालले ‘सक्कल बिल पेश नगरेको’ भन्दै मागदाबी अनुसारको रु.६ लाख ४१ हजार ८२५ रकम दिएको छैन । त्यस्तै, युनिभर्सल मेडिकल कलेज भैरहवाले घाइते नभई अरूकै नाममा पेश गरेको बिलको रु.२ लाख ४७ हजार ७६३ निकासा रोकेको छ ।

हदैसम्मको उपेक्षा
बैरियाबिर्ता डापु–३, पर्साका विजय यादव (२७) लाई ३ भदौ २०७३ मा भएको प्रदर्शनमा वीरगञ्जको माइस्थान चोकमा सात वटा छर्रा लाग्यो । घाँटी, बायाँ तिघ्रा, दायाँ खुट्टा, बायाँ छातीमा गोली लागेका उनलाई त्यसै दिन नारायणी उप–क्षेत्रीय अस्पताल भर्ना गरियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर वीर अस्पतालको आकस्मिक कक्षमा राखियो ।

वीरमा १६ दिनको उपचारको क्रममा यादवको सिटी स्क्यान, अल्ट्रा साउण्ड, रगत जाँच, एक्सरेलगायतका परीक्षण गरियो । त्यसपछि उनले वीरगञ्जस्थित आफैंले काम गर्दै आएको सराफ क्लिनिकका डाक्टरबाट उपचार गर्न थाले । लगातार तीन महीना उपचार गर्दा उनी पटनासम्म पुगे । उनी भन्छन्, “घाउ निरन्तर दुखिरहन्छ, निद्रा लाग्दैन, धड्कन बढ्ने समस्या पनि थपिएको छ ।” दुखाइ कम गर्ने औषधिहरूमै करीब रु.३ लाख खर्च भइसकेको उनी बताउँछन् ।

उनले सहयोग भने गृह मन्त्रालयको रु.५२ हजार बाहेक अन्त कतैबाट पाएका छैनन् । अहिले घरमै उपचार गर्दै बसेका उनलाई परिवार पाल्ने समस्या छ । बाँचे पनि अगाडिको दिन कसरी बिताउने भन्ने भएको उनी बताउँछन् । “अब जिन्दगीभर यो पीडामा बाँच्नुपर्ने भयो”, यादव भन्छन्, “आन्दोलनका घाइतेहरूलाई मोर्चाले गरेको उपेक्षा सबभन्दा अपमानजनक छ ।”

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेटेर उपचारमा सहयोग माग्दा पूरै बेवास्ता गरेको उनले बताए । (हे.बक्स) अर्का घाइते पन्नालाल यादवको पनि यस्तै गुनासो छ । “हामीलाई दुःख मात्र भयो”, उनी भन्छन्, “घाइते भएकाले काम गर्न सकिन्न, अब छोराछोरी पाल्ने कसरी ?”

 

प्रतिकृया दिनुहोस