तीन कम्पनीको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी ब्यांक, स्वावलम्बन विकास ब्यांक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् ।
आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई दिने शेयर लाभांश र नगद लाभांशपछि ती कम्पनीले शेयर मूल्य समायोजन गरेका हुन् ।
स्टकका अनुसार एनएमबी ब्यांकले दश प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेअनुसार नै प्रतिकित्ता रु ३५१ मा शेयरमूल्य समायोजन गरेको हो ।
ब्यांकको औसत आधारमूल्य रु ३७२ रहेको छ । यस्तै स्वावलम्बन विकास ब्यांकको २५ प्रतिशत शेयर लाभांशपश्चात् प्रतिकित्ता रु ८८६ मा शेयर मूल्य समायोजन भएको छ ।
स्टकले सो ब्यांकको औसत आधार मूल्य रु एक हजार ८० कायम गरेको छ । मिर्मिरे लघुवित्तले पनि २४ प्रतिशत शेयर लाभांश दिने निर्णयसँगै आज शेयर मूल्य समायोजन गरेको छ । सो संस्थाको प्रतिकित्ता रु ९६९ मा रहने गरी शेयर मूल्य समायोजन गरेको हो । सो लघुवित्तको औसत आधार मूल्य रु एक हजार ४४४ रहेको छ ।
नेपाल हाइड्रोडेभलपर लिमिटेडले आफ्ना शेयरधनीलाई चार प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४/७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । सो आवमा कम्पनीले रु एक करोड ९७ लाख ७७ हजार नाफा गरेको थियो । रासस