शेयर बजारमा उछाल, दोहोरो अंकको वृद्धि
साताको पहिलो कारोबार दिन ८ पुसमा शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक परिसूचक नेप्से दिनभरिमा ३२.२४ अंकले बढेर ११९८.१८ अंकमा पुग्यो।
माइक्रो फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा कम्पनीको मूल्य उच्च अंकले वृद्धि हुँदा समग्र नेप्से परिसूचक बढेको हो। दिनभरिमा शेयर बजार २.७७ प्रतिशतले उकालो लाग्दा निर्जीवन बीमा ५.९७, माइक्रो फाइनान्स ४.८२ र जीवन बीमा कम्पनीको शेयर कारोबार ४.५७ प्रतिशतले उकालो लाग्यो।
कारोबार भएका १६४ कम्पनीमध्ये १९ कम्पनीको मूल्य मात्र ओरालो लाग्दा आईएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र कालिका लघुवित्तीय संस्थाको मूल्य १० प्रतिशतले उकालो लाग्यो। उच्च अंकले बढेको बजारमा दिनभरिमा रु. ८७ करोड ५५ लाख रुपैयाँबराबरको शेयर खरिद बिक्री भयो।
५ पुसमा ब्यांक तथा वित्तीय संस्थाहरूले ९.५ प्रतिशतभन्दा बढी ब्याज दिने सहमति गरेपछि शेयर बजार बढ्न सक्ने आकलन लगानीकर्ताको थियो।
नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल पनि ब्याजदरका विषयमा भएको सहमतिले लगानीकर्ताको मनोबल बलियो हुँदा शेयर बजार उकालो लागेको बताउँछन्। तर, एक दिनको परिसूचक हेरेर शेयर बजार कस्तो हुन्छ भन्न नसकिने उनको भनाइ छ।
शेयर बजार उकालो लाग्दा ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इडेक्स पनि २.९५ प्रतशितले उकालो लागेको छ। परिसूचक दोहोरो अंकले उकालो लाग्दा उत्पादनमूलक उपसूचक भने ०.२७ प्रतिशतले ओरालो लाग्यो। ८ पुसमा रु.८ करोड १७ लाख बराबरको शेयर खरिद बिक्री भएको सनराइज ब्यांक संस्थापक शेयरतर्फ धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।