साताभरमा १७.१६ अंकले उकालो लाग्यो शेयर बजार
साताभरमा शेयर बजार १७.१६ अंकले उकालो लागेको छ। साताको पहिलो कारोबार दिन १ पुस (आइतबार) ११४८.७८ अंक रहेको नेप्से परिसूचक अन्तिम कारोबार दिन ५ पुस (बिहीबार) ११६५.९४ अंकमा बन्द भयो।
वाणिज्य ब्यांकहरूले ब्याजदर नबढाउने सहमति गरेपछि शेयर बजार बढ्न सक्ने ब्रोकरहरूको भनाइ छ। ५ पुसमा नेपाल ब्यांकर संघले बचतमा ६.५ र मुद्दतिमा ९.२५ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका थिए।
पूँजी बजारमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता अर्थमन्त्री युवराज खतिवडाले जनाएकाले शेयर बजारमा सुधार हुने कार्यदल सदस्य तथा नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिका पौडेल बताउँछन्। बजार घटबढ हुनु स्वाभाविक भए पनि पछिल्लो समय लगानीकर्ताको मनोबल कमजोर भएकाले शेयर बजार लगातार घटिरहेको उनको भनाइ छ।
लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजार लगातार ओरालो लागेको एक म्युचअल फण्डका प्रमुख कार्यकारी अधिकृत पनि बताउँछन्। “शेयर बजार बढ्छ मात्रै भन्ने केही लगानीकर्ताको मानसिकताले पनि समस्या भएको छ,” उनी भन्छन्, “एक विन्दुमा पुगेपछि बजार घटबढ हुनु स्वाभाविकै हो। तर, लगानीकर्ताले जोखिम व्यवस्थापनका बारेमा पनि सोच्नुपर्छ।”
ब्यांक तथा वित्तीय संस्थाले ब्याजदर बढाउन प्रतिस्पर्धा नगर्ने सहमति गरेकाले शेयर बजारमा सुधार हुन सक्ने उनको पनि आकलन छ। वाणिज्य ब्यांकले नै मुद्दतिमा १३ प्रतिशत ब्याज दिँदा शेयर बजारमा लगानी गर्नेहरू घटेका थिए। शेयरको आपूर्ति बढेको अनुपातमा लगानी बढ्न नसकेका कारण बजार घटेको ब्रोकरहरू बताउँछन्।
यो साता भने १७.१६ अंकले बढेको बजारमा रु.२ अर्ब २१ करोड बराबरको शेयर खरिद बिक्री भएको छ, जुन गत साताभन्दा ३५.२७ प्रतिशत बढी हो। गत साता भने रु. १ अर्ब ६३ करोड बराबरको शेयर खरिद बिक्री भएको थियो। साताभर रु. १८ करोड ७४ लाख बराबरको कारोबार भएको नेपाल ब्यांक लिमिटेड धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।