ब्याजदर घटाउन ब्यांकरहरूको भद्र सहमति
नेपाल ब्यांकर्स संघले निक्षेपको ब्याजदर घटाउने सहमति गरेको छ। ५ पुस दिउँसो बसेको संघको बैठकले ब्याजदरमा भद्र सहमति गर्ने निर्णय गरेको हो। ६ पुसदेखि नै लागू हुनेगरी ब्याजदर घटाउने निर्णय भएको छ।
ब्यांकरहरूले व्यक्तिगत निक्षेपमा बढीमा ९.२५ तथा संस्थागततर्फ ८.५ प्रतिशत मात्र ब्याज दिने सहमति गरेका छन्। यस्तै, बचत खाताको ब्याजदर ६.५ प्रतिशतमा सीमित राख्ने सहमति भएको छ।
राष्ट्र ब्यांकका गभर्नर डा. चिरञ्जीवी नेपाल तथा डेपुटी गभर्नरहरूले ब्यांक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर ब्याजदर घटाउन निर्देशन दिँदै आएका थिए। निक्षेप रकम खोसाखोस भएपछि ब्यांकहरूको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) तोकिएको सीमा ८० प्रतिशत नाघिसकेको छ।
यसअघि पनि ब्यांकरहरूले निक्षेपको ब्याजदरलाई सीमामा राख्ने भद्र सहमति गर्दै आए पनि बजारमा लगानीयोग्य पूँजीको अभाव चर्किंदै गएपछि यस्तो सहमति तोडिएको थियो।