तीन महीनाभित्र पाइपबाट पेट्रोलियम पदार्थ
नेपाल-भारत दुवै मुलुकको प्राथमिकतामा रहेको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२.२ किलोमिटर मात्र बिछ्याउन बाँकी छ। पाइपलाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३६.२ किमिमध्ये २४ किमिमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ।
“बाँकी काम तीव्र गतिमा भइरहेको छ,” इञ्जिनियर शरदप्रसाद पौड्यालले भने, “अवरोध नभए भारत विहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत ३ महीनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउनेछ।”
परियोजनाअन्तर्गत बाराको जीतपुर बजारदेखि उत्तरतर्फको क्षेत्रमा केही औद्योगिक प्रतिष्ठानले सडकछेउमै ब्लक निर्माण गरेका छन्। सडक विभागले ६ लेनको सडक विस्तार गरिरहेकाले सो ब्लक हटाउने काम तीव्र गतिमा भइरहेको छ। नेपालतर्फ पाइप बिछ्याउन बाँकी भूभागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा ९ किमि बाँकी छ। यस्तै, वीरगञ्जको रजत जयन्ती चौक, गण्डक चौक बाइपास क्षेत्रमा पाइप क्रसिङको काम सकिएको छ। गण्डक क्षेत्रको उत्तरतर्फ ४६८ मिटरमा ड्रिलिङ गरी पाइप बिछ्याइएको छ।
भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३.७ किमिमध्ये ३० किमिमा पाइप बिछ्याइएको छ। नेपालको ‘लाइफलाइन’ मानिएको ७० किमि लामो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ। गत चैत अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रूपमा उक्त पाइपलाइन शिलान्यास गरेका थिए।
पथलैयादेखि अमलेखगञ्जसम्म ८ किमिमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन जाने भएकाले निकुञ्जभित्रका ६ हजार हरिया रूख काट्न बाँकी छ। “नेपालतर्फ जमिनमुनि ओछ्याइएको पाइपको रेडियोग्राफी र हाइड्रो परीक्षण गरिनेछ। परीक्षणपछि पाइपमा १५ हजार भोल्टेज भएको विद्युत् प्रवाह गरी पाइपलाई दिनभरि जाँच गरिनेछ,” इञ्जिनियर पौड्यालले भने।
पाइपमा कहींकतै खराबी देखिए सो पत्ता लगाउन पाइपसँगै अप्टिकल फाइबर जडानको काम सँगसँगै भइरहेको छ। पाइप बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगञ्जस्थित आयल निगमको डिपोमा ३ हजार ९०० किलोलिटरका २ र ४ हजार १०० किलोलिटरका २ गरी ४ वटा ट्यांकरको मर्मतसम्भार द्रुत गतिमा भइरहेको छ। एउटा ट्यांकर तयार भइसकेको छ।
निर्माण सम्पन्न भएपछि पटनाबाट प्रतिघण्टा २५० किलोलिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिनेछ। पहिलो चरणमा परीक्षणका रूपमा डिजेल ल्याइने परियोजनाले जनाएको छ। रासस