एक कम्पनीले एकसाथ दुई विद्युत् आयोजना निर्माण गर्दै
सिन्धुपाल्चोकको ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकसाथ निर्माण गर्ने भएको छ।
रु ७ अर्ब लगानीमा ३५.४७ मेगावाट क्षमताको ब्रह्मायणी र रु ३ अर्ब लगानीमा १५.१५ मेगावाट क्षमताको अपर ब्रह्मायणी आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने गरी इन्ट्रिगेटेट हाडड्रो फण्ड नेपालले निर्माण गर्न लागेको आयोजनाका कार्यकारी अध्यक्ष भरत पराजुलीले जानकारी दिए।
दुवै आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाममा प्रतियुनिट रु ८.४० र बर्खायाममा प्रतियुनिट रु ४.८० मा नेपाल विद्युत् प्राधिकरणसँग बिक्री सम्झौता भएको छ। जुगल हिम शृंखलाको फेदीमा पर्ने पेमासालमा बाँध बाँधी ५.८ किमि सुरुङमार्फत जुगल गाउँपालिका-२ गोल्चेको तेम्वाथान फेदीमा पर्ने लाङटाङ र बलेफीको दोभानमा निर्माण हुने विद्युत्गृहमा पानी खसालिनेछ। निर्माण गरिने सबै संरचना भूमिगत हुनेछन्।
यस्तै, लाङटाङ र बलेफीको दोभानभन्दा सय मिटरमाथि विद्युत्गृह निर्माण गरी ३.५ किमि सुरुङमार्फत पानी खसाली अपर ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण गरिनेछ। दुवै आयोजनाबाट जुलाई २०२३ मा व्यापारिक उत्पादनको लक्ष्य छ। रासस