नयाँ १० शहर बनाउने एकीकृत विकास योजना अन्तिम चरणमा
मध्यपहाडी लोकमार्ग आसपासका १० बजारलाई व्यवस्थित नयाँ शहरका रुपमा विकास गर्न शुरु गरिएको एकीकृत विकास योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित शहरका रुपमा विकास गर्न लागेको हो ।
आव २०६७/०६८ देखि पूर्वाधार निर्माणका लागि १० शहर छनोटको काम शुरु भएको थियो । प्रत्येक विकास क्षेत्रका दुई शहरलाई व्यवस्थित बनाउन, २० वर्षमा एक लाख जनसङ्ख्या अत्यावश्यक सुविधासहित बस्न सक्ने गरी पूर्वाधार विकासको काम गर्न एकीकृत विकास योजना निर्माण अन्तिम चरणमा पुगेको नयाँ शहर आयोजना समन्वय कार्यालयका इन्जिनियर शान्तिवदन श्रेष्ठले बताए ।
“दुई शहर हेर्ने गरी एक जना परामर्शदाताले एकीकृत विकास योजना निर्माण गर्नुभएको छ, १० वटै शहरमा समन्वय कार्यालय खुलेर काम शुरु भएको छ, यस वर्ष आयोजनाका लागि रु एक अर्ब एक करोड ११ लाख ४४ हजार बजेट विनियोजन भएको छ”– उनले भने ।
आव २०७१/२०७२ देखि १० वटै zहरमा पूर्वाधार निर्माणको काम शुरु भएको आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए । “चालु आवको अन्तसम्म योजना निर्माण सक्ने गरी काम भइरहेको छ”–उनले भने । रासस