गोवामा दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्नु दुष्प्रचारमात्रै: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालैको भारतभ्रमणका बेला भारतीय नेताबाहेक अन्य कसैसँग भेटवार्ता नभएको बताएका छन् ।
नेपाली कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा इन्डिया फाउन्डेशनद्वारा गोवामा आयोजित कार्यक्रममा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, रेलमन्त्री सुरेश प्रभु र आध्यात्मिक चिन्तक स्वामी तेजोनन्दसँग आफू सँगै मञ्चमा रहेको र उद्घाटन सत्रको कार्यक्रम सकिने वित्तिकै कार्यक्रम स्थलबाट बाहिरिएकाले त्यहाँ अरु कोको उपस्थित थियो भन्ने थाहा नभएको उल्लेख छ ।
“यो तथ्यका बाबजुद पनि केही नेपाली सञ्चारमाध्यमले पटक–पटक सभापति देउवाले दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्दै नियोजित रुपमा र अनर्गल प्रचारको शैलीमा समाचार सम्प्रेषण गरिरहेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “दर्शक दीर्घामा को–को थिए र को कहाँ बसेका थिए, त्यसको उहाँलाई कुनै जानकारी छैन र जानकारी लिने विषय पनि भएन । त्यसको चियोचर्चो गर्ने विषय पनि होइन । त्यसका बाबजुद कहाँ कहाँको तस्वीर जोडी उहाँसँगै बसेको र अन्तरक्रिया समेत गरेको तथा सभापति श्री देउवा एक चीन नीतिप्रति सम्वेदनशिल नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो ।"