मन्ट्रियल महासन्धि लागू हुँदै- विमान दुर्घटना र लगेज हराउँदा पाइने क्षतिपूर्ति रकम बढ्यो
नेपालमा २९ मंसीरदेखि मन्ट्रियल महासन्धि कार्यान्वयनमा आउँदैछ। ७ भदौमा संसदले महासन्धि पारित गरेपछि २० भदौमा अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आईकाओ) लाई जानकारी दिएको थियो।
कुनै पनि देशले महासन्धि पारित भएर जानकारी गराएको दुई महिनामा कार्यान्वयनमा आउने प्रावधान छ।
सन् १९९९ मा पारित भएको महासन्धि नेपालमा कार्यान्वयन आएसँगै नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढेको छ। विगतमा वार्सा महासन्धिअनुसार नेपाली यात्रुका परिवारले २० हजार अमेरिकी डलर मात्र क्षतिपूर्ति पाउने गरेका थिए।
अब क्षतिपूर्ति रकम १ लाख १३ हजार १ सय एसडीआर अर्थात् १ लाख ५७ हजार २०९ अमेरिकी डलर (आज राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार) भएको छ।
आईकाओका १९२ सदस्य देशमध्ये १३५ ले मन्ट्रियल महासन्धि कार्यान्वयनमा ल्याइसकेका छन्। महासन्धि कार्यान्वयनमा आउँदा लगेज हराउँदा पाइने क्षतिपूर्ति रकम पनि बढेको छ। विगतमा लगेज हराउँदा ४०० अमेरिकी डलर क्षतिपूर्ति पाइने गरेकोमा अब १ हजार ५६५ अमेरिकी डलर पाइनेछ।
नेपाली यात्रुलाई क्षतिपूर्ति रकममा चित्त नबुझे नेपालकै अदालममा मुद्दा दायर गर्न पाइनेछ। मन्ट्रियल महासन्धि अहिलेलाई अन्तर्राष्ट्रिय उडानमा कार्यान्वयन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि लामिछानेले जानकारी दिए।
नेपालमा २०६५ सालदेखि मन्ट्रियल महासन्धि लागू गर्ने विषयमा बहस शुरु भएको थियो। नेपालले महासन्धि पारित गरेसँगै नेपाली वायु सेवा कम्पनीले महासन्धिका सबै प्रावधान अनिवार्य कार्यान्वयन गर्नुपर्नेछ।
उक्त महासन्धि पारित नगरेका देशमा विमानमा यात्रा गर्दा भने महासन्धिको प्रावधानअनुसारको क्षतिपूर्ति पाइने छैन।