चीनको छेन्दु नगरपालिकाले तीनकुनेमा 'शान्ति मण्डला' बनाइदिने
चीनको छेन्दु नगरपालिकाले काठमाडौंको तीनकुनेमा ‘तीनकुने शान्ति मण्डला’ निर्माण गरिदिने भएको छ ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार छेन्दु नगपालिकाका मेयरले कुनै एउटा परियोजनामा लगानी गर्ने चासो देखाएपछि कामपाले उक्त मण्डला निर्माणको जिम्मा दिन तयार भएको हो ।
निर्माणकै लागि बाँकी छलफल गर्न केही दिनमा कामपाको प्रतिनिधि सम्मिलित एक टोली चीन जाने तयारी गरेको छ ।
कामपाका अनुसार हाल नक्साङ्कनको काम र निर्माणको लागि करिब रु एक अर्ब २३ करोड ४६ लाख ७५ हजार खर्च लाग्ने अनुमानित प्रतिवेदनसमेत सार्वजनिक भइसकेको छ ।
आगामी पाँच वर्षभित्र बनाइसक्ने योजनाअनुरुप प्रक्रिया शुरु गरिएको छ । शान्तिमण्डलाको बीच भागमा १६ मि अग्लो बुद्धको विशाल मूर्ति हुनेछ ।
सो मण्डलाको संरचना हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने बताइएको छ । मण्डलाको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति राखिनेछ ।
त्यस्तै मूर्तिको वरिपरि रूख–बिरुवा रोपिने बताइएको छ । संरचनाको तीनवटै कोणमा चौबिसै घन्टा पानी आउने ‘फाउन्टेन’ निर्माणको गर्ने योजना छ ।
करिब ५१ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त उद्यानभित्र एकैपटक २०० जनाले योग गर्न सक्ने योग कक्षसमेत निर्माण गरिनेछ ।