११ महीनामा १० लाख पर्यटक
सन् २०१८ को नोभेम्बरसम्म नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ।
सन् २०१८ का जनवरीदेखि नोभेम्बरसम्म १० लाख १ हजार ९३० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन गत वर्षको सोही अवधीको तुलनामा १७ प्रतिशतले बढी हो। त्यसमा सबैभन्दा बढी भारतका २ लाख ६० हजार १२४ पर्यटक नेपाल घुम्न आएका छन्। उक्त अवधीमा उत्तरी छिमेकी चीनमा १ लाख ३४ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आए।
पछिल्ला ११ महीनामा यूरोपेली मुलुकका २ लाख २४ हजार २०६ पर्यटक नेपाल आए। यस अवधीमा नेपाल आउने पर्यटकको हिस्सामा तेस्रो अमेरिका, चौथो बेलायत र पाँचौं जर्मनीका नागरिक छन्।
सन् २०११ मा पर्यटन वर्ष घोषणा गर्दै नेपालले एक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। त्यतिबेला ७ लाख ३६ हजार २१५ विदेशी पर्यटक मात्र आएका थिए।
नेपाल विश्वभरका पर्यटकको रोजाइको गन्तव्यका रूपमा विकास भइरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।