उच्च व्यवस्थापनका सबै ब्यांकरलाई ‘कुलिङ पिरियड’ लगाउने तयारी
उच्च व्यवस्थापनका ब्यांकरलाई पनि ‘कुलिङ पिरियड’ अर्थात् प्रतिबन्धित अवधिको सीमा लगाउने गरी नियम बनाउन नेपाल राष्ट्र ब्यांकले छलफल थालेको छ।
“यसबारे प्रारम्भिक छलफल भएको छ,” राष्ट्र ब्यांकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने। तर, अहिलेसम्म कुन-कुन तहका कर्मचारीलाई के कति अवधिसम्म अर्को संस्थामा जान प्रतिबन्ध लगाउने भन्नेबारेमा निर्क्योल नभइसकेको उनले बताए।
यसअघि केन्द्रीय ब्यांकले १३ पुस २०७४ मा केही ब्यांक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी र सञ्चालकहरूका लागि पदबाट निवृत्त भएको कम्तिमा ६ महिनासम्म अर्को संस्थाका प्रमुख कार्यकारी वा सञ्चालक बन्न अयोग्य हुने व्यवस्था गरेको थियो।
तर, उक्त नीति कार्यान्वयनमा आएपछि नबिल ब्यांकले प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्ती दिने निर्णय गरिसकेका अनिलकेशरी शाहलाई नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा ब्यांकको व्यवस्थापकीय नेतृत्व सुम्पेको थियो।
ब्यांकहरूले ‘चोर बाटो’ खाजेको बताउँदै राष्ट्र ब्यांकले ब्यांकको उच्च व्यवस्थापनमा रहेका कर्मचारीलाई पनि पदअनुसारको ‘कुलिङ पिरियड’ लगाउने तयारी गरेको केन्द्रीय ब्यांकका अधिकारीहरू बताउँछन्।
नयाँ व्यवस्थाका लागि अहिले छलफल मात्रै थालिएको र बजारबाट मिश्रित प्रतिक्रिया पाइएको राष्ट्र ब्यांकका अधिकारीहरूले बताएका छन्। कतिपय ब्यांकरहरू भने यस्तो व्यवस्थाले कर्मचारीको करिअरमा प्रतिकूल प्रभाव पार्ने र कर्मचारी व्यवस्थापनमा समस्या सृजनासमेत हुनसक्ने बताउँछन्।