दाहालको ओली र देउवासँग बेग्लाबेग्लै छलफल
प्रधानमन्त्री पुष्पकमल दाहालको एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग बेग्लाबेग्लै छलफल गरेका छन् ।
सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको सचिवालयमा आज साँझ एमाले अध्यक्ष ओलीसँग भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सल्लाहकार आचार्यले भने, “प्रधानमन्त्रीले प्रमुख तीन दलको सहमतिमा यही कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा पूर्वप्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएको हो । आजको छलफल सकारात्मक छ ।”
बैठकपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग किन, कुन विषयमा र कसरी संविधान संशोधन गर्ने भन्ने जिज्ञासा राखेको जानकारी दिए ।
उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा प्रधानमन्त्रीसँग छलफल भएको र छलफल निरन्तर जारी राख्ने सहमति भएको बताए ।
मधेसकेन्द्रित दलले आफूहरुको माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग आग्रह गर्दै आएका छन् । मोर्चाको माग बमोजिम संविधानका केही विषयमा संविधान संशोधन गर्ने सरकारको तयारी छ ।
प्रम दाहाल र सभापति देउवाबीच भेट
प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि आज भेटवार्ता भएको छ ।
भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन लगायत विषयमा कुराकानी भएको थियो ।
छलफलमा सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने लगायत विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
रासस