वीरगञ्जमा करिब दुईसय ई–रिक्सा प्रहरी नियन्त्रणमा, ज्यादती भएको चालकको गुनासो
वीरगञ्जको पावरहाउबाट ई–रिक्सा चढेर रक्सौल जान लागेका ६२ वर्षीय ग्यासुद्दिन अन्सारीलाई झारेर ट्राफिक प्रहरीले रिक्सा नियन्त्रणमा लियो । अन्सारीले बाँकी यात्राका लागि टेम्पो चढे ।
वीरगञ्ज–१४ श्रीपुरका कोहिनुर शम्शेर राणा उपचारका लागि अस्पताल जाँदै थिए । उनी चढेको ई–रिक्सा पनि प्रहरीले नियन्त्रणमा लियो । हिड्न नसक्ने राणा विनाकारण आफूलाई रिक्साबाट उतारिएकोमा आक्रोशित देखिन्थे ।
२५ कात्तिकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रुको सुविधालाई ख्यालै नगरी वीरगञ्जबाट धमाधम ई–रिक्सा नियन्त्रणमा लियो ।
ट्राफिक प्रहरीले चालकसँग सवारी चालक अनुमति पत्र (लाईसेन्स) नभएको भन्दै करिब २०० वटा ई–रिक्सा नियन्त्रणमा लिएको छ । वीरगञ्जमा ७ सयको हाराहारीमा ई–रिक्सा चल्दै आएका छन् ।
तर, चालकहरु भने वीरगञ्जमा ई–रिक्सा चल्न थालेदेखि अहिलेसम्म यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण नगरेको र एक वर्ष केही नभनेको प्रहरी एक्कासी कारवाहीमा उत्रिएको बताउँछन् ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको आदेश अनुसार लाईसेन्स नभएका चालकको ई–रिक्सा नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक रविन्द्र भट्टले बताए ।
“कात्तिक ११ गते नै ई–रिक्सा व्यवसायी संघहरुलाई पाँच दिनको समय राखेर लाईसेन्स नभई चलाउन नदिने पत्र पठाइसकेका थियौं,” ट्राफिक प्रहरी निरीक्षक भट्टले भने “त्यसपछि पनि २१ र २२ गते वीरगञ्जमा माईकिङ गरेर सचेत गरायौं । अटेर गरेपछि मात्रै नियन्त्रणमा लिइएको हो ।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले ई–रिक्सालाई व्यवस्थित गर्नका लागि नियन्त्रणमा लिएको बताए ।
चालकहरुले भने अनुमतिपत्रका लागि आफूहरुले निवेदन दिएको र यातायात कार्यालयले ८ मंसीरमा ट्रायलका लागि बोलाएकाले त्यतिञ्जेलसम्म ट्राफिक प्रहरीले कार्वाही गर्न नहुने बताउँछन् ।
उनीहरुका अनुसार अहिलेसम्म ई–रिक्साका लागि लाइसेन्स निवेदन नखुलेकाले कसैसँग पनि ई–रिक्सा चालकको लाइसेन्स छैन । टेम्पो चलाउनेहरुले भने टेम्पोको लाइसेन्सले इरिक्सामा पनि काम गर्ने बताउँछन् ।
वीरगञ्जमा ई–रिक्सा पहिले फाट्टफुट्ट देखिए पनि गत वर्ष भारतीय नाकाबन्दीले इन्धन अभाव भएपछि यसको संख्या ह्वात्तै बढ्यो । मधेश
आन्दोलन पनि चलिरहको त्यसबेला आन्दोलनकारीले समेत नरोक्ने हुँदा ई–रिक्साको प्रचलन बढेको हो । त्यसयता यातायात कार्यालयले ई–रिक्सा चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगरेकाले कसैले पनि अनुमति पत्र लिएका छैनन् ।
प्रहरीले बेलाबेला चेकजाँच गरी एक हजार रुपैयाँसम्म जरिवाना गरेर छोड्ने गरेको चालकहरु बताउँछन् ।
“पोहोर आन्दोलनका बेला ३ लाख हालेर ई–रिक्सा किनेको हुँ,” चालक नन्दलाल पटेल भन्छन,“लाइसेन्स खुलेकै छैन कहाँबाट लिनु, ट्राफिकलाई जतिबेला मन लाग्छ पक्राउ गर्छ र पैसा असुल्छ ।”
अर्का चालक बैजुकुमार कलवार एक वर्षदेखि विना लाइसेन्स ई–रिक्सा चलिरहेकाले अब यातायात कार्यालयले लाइसेन्स वितरण नगर्दासम्म ट्राफिक प्रहरीले पनि कुर्नु पर्ने बताउँछन् ।
नारायणी अटो रिक्सा सञ्चालक कम्पनी प्रालीका अध्यक्ष जितेन्द्र पटेलले ट्राफिक प्रहरीले अनावश्यक दुख दिएको भन्दै समस्या एकदुई दिनमै समाधान नभए अदालतमा जाने तयारी भईरहको बताएका छन् ।
यात्रुहरुलाई भने ई–रिक्सा नचलेका कारण समस्या भईरहको छ ।
सुरेश बिडारी, वीरगञ्ज