एनसेलसँग सबै कर उठाऊः लेखा समिति
लेखा समितिले एनसेलसँग पूँजीगत लाभकरलगायत सबै कर उठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
कर कार्यालयले एनसेललाई रु. ६० अर्ब ७१ कर निर्धारण गरे पनि एनसेलले करिब रु. २३ अर्ब मात्रै कर तिरेको थियो।
राजस्व सचिव शिशिर ढुंगानाले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल सरकारले केही गर्न नसकेको बताएका थिए। उनले एनसेलबाट कर संकलन गर्न टेलियासोनेरा कम्पनीले विदेश लैजान खोजेको लाभांश रोक लगाए पनि सर्वोच्च अदालतको आदेशले उक्त रकम पनि रोक्न नसकिएको समितिलाई जवाफ दिएका थिए।
सर्वोच्च अदालतले ९ पुस २०७४ मा टेलियासोनेरालाई लाभांश लैजान रोक नलगाउन आदेश दिएपछि उसले २६ असोज २०७५ सम्म नेपालमा भएको करिब रु. ३६ अर्ब ४ करोड विदेश लगिसकेको छ।
नेपाल राष्ट्र ब्यांकका अनुसार अझै पनि टेलियासोनेराको करिब रु. ३० अर्ब नेपालमा छ। संसदीय समितिको बैठकमा सांसदहरूले सर्वाेच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलगाउँदासम्म उक्त रकम विदेश लैजानबाट रोक्नुपर्ने माग गरेका थिए।