वडा कार्यालयका कर्मचारी लोकमानको पक्षमा!
काठमाडौं महानगरपालिका वडा नम्बर १० का सचिव सरिता राई र भेषराज अर्यालले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा अदालतको म्याद तामेली रोक्न खोज्नेहरूलाई जोगाउन खोजेका छन् । उनीहरुले कार्कीको घरमा म्याद तामेलीमा अवरोध गर्न खटिएकाहरूलाई आफूहरूले नचिनेको लिखित कागज गरिदिएका हुन् ।
२४ कात्तिकमा गरिएको कागजमा भनिएको छ, “हामीलाई थाहा भएसम्म वडा नम्बर १० को वडा नागरिक मञ्चको व्यक्तिहरु हामीले कामकारवाहीको अवस्थामा देखि आएको भए पनि म्याद तामेली गर्ने ठाउँमा हामी उपस्थित नभएकोले उक्त कार्यमा अवरोध गर्ने पदाधिकारीहरूको स्पष्ट नाम ठेगाना, फोन नम्बर एकिन रुपमा खुलाउन सक्दैनौं ।”
कर्मचरीद्वयले म्याद तामेलीमा आफूहरू दुबै जना उपस्थित नभएको भनी अदालतलाई झुठा व्यहोरा लेखाएका छन् । जबकी राईले म्याद तामेलीको रोहवरमा सही गरेकी छन् । सर्वोच्चमा यसअघि बुझाएको लिखित जवाफको व्यहोराले पनि दुबै जना म्याद तामेलीका बेला उपस्थित भएको पुष्टि गर्दछ।
कर्मचारीद्वयको यो बयानले सर्वोच्च अदालतको २३ कात्तिकको आदेशको अवज्ञा गरेको सर्वोच्चका एक पूर्व न्यायाधीश बताउँछन् ।