मत सर्वेक्षण गर्न नपाइने प्रमुख निर्वाचन आयुक्तको भनाइ
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मत सर्वेक्षण गर्न नपाइने बताएका छन्।
यादवले १० मंसीरमा पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेको हुँदा दोस्रो चरणको लागि मत सर्वेक्षण गर्न नपाइने बताएका हुन्।
आज निर्वाचन आयोगमा पत्रकारहरुसँग बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिता विपरीत भएको बताए।
मनोनयन दर्ता भएको समयदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ।
प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता विपरीत कसैले मत सर्वेक्षण गरेको पाइएमा कारबाही हुने जानकारी दिए।
मत सर्वेक्षणको नतिजालाई सञ्चारमाध्यममा स्थान नदिनसमेत प्रमुख आयुक्त यादवले आग्रह गरेका छन्।