आफूखुशी ओपीडी शुल्क बढाउँदै निजी अस्पताल
निजी अस्पताल सञ्चालकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति नलिई आफूखुशी ओपीडी सेवा शुल्क बढाउन लागेका छन्।
नेपाल चिकित्सक संघ (एनएमए) र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूशन नेपाल (अफिन)ले आफूखुशी ओपीडी सेवा शुल्क बढाउने निर्णय गरिसकेका छन्। स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिई चिकित्सकहरूको परामर्श शुल्क बढाउन लागिएको हो। आउँदो जेठ १ गतेबाट बिरामीले निजी अस्पतालमा ४२० देखि ९४० रुपैयाँसम्म चिकित्सकको शुल्क तिर्नुपर्नेछ।
एनएमएका अध्यक्ष डा. अनिलविक्रम कार्की र अफिनका अध्यक्ष डा. पदमबहादुर खड्काको संयुक्त अध्यक्षतामा बसेको एनएमए र अफिनको संयुक्त बैठकले शुल्क बढाउने निर्णय गरेको थियो। त्यस आधारमा जेठ १ देखि चिकित्सकहरूको योग्यता र अनुभवका आधारमा ४२० देखि ९४० रुपैयाँसम्म परामर्श शुल्क लिन स्वास्थ्य संस्था, अस्पताल तथा चिकित्सकहरूलाई एनएमए र अफिनले निर्देशन दिएका छन्।
एनएमएका अध्यक्ष डा. कार्कीका नेपाल राष्ट्र ब्यांकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिश गरेको शुल्कलाई आधार मानेर चिकित्सकहरूको परामर्श शुल्क बढाएको बताउँछन्। “महँगी आकाशिन थालेको छ, तर चिकित्सकहरूको शुल्क भने बढाइएको छैन। यसले चिकित्सकहरूलाई पनि बाँच्न गाह्रो बनाएको छ,” डा. कार्की भन्छन्।
हरेक दुई–दुई वर्षमा शुल्क बढाउने सम्झौता भए अनुसार नै अहिले शुल्क बढाउन लागिएको उनको भनाइ छ। “स्वास्थ्य मन्त्रालयसँग हरेक दुई वर्षमा शुल्क बढाउने सम्झौता भएको थियो। सोही सम्झौता अनुसार यो वर्ष शुल्क बढाइएको हो। एनएमएले २० प्रतिशत शुल्क बढाउन पाउने भए पनि जम्मा १२ प्रतिशत शुल्क मात्र बढाएको हो,” उनी भन्छन्।
यसअघि दुई पटक मात्र चिकित्सकहरूको परामर्श शुल्क बढाइएको थियो। २०७१ र २०७७ सालमा शुल्क बढेको थियो। लामो समयसम्म शुल्क नबढेकाले अहिले बढाउन लागेको उनको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. पवनकुमार साह भने मन्त्रालयको अनुमति नलिई शुल्क बढाउन नपाइने बताउँछन्। “मन्त्रालयले हालसम्म शुल्क निर्धारण गरेको छैन। मन्त्रालयको अनुमति नलिई आफूखुशी शुल्क बढाउन पाइँदैन,” डा. साह भन्छन्। एनएमएले बढाएको शुल्कलाई मन्त्रालयले स्वीकृत नगरेको उनले बताए।
मन्त्रालयले त्यति वेलाका लागि सम्झौता गरेको जुन अहिले लागू नहुने डा. साहले बताए। “दुई वर्षअघि मन्त्रालयबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुन्जेलसम्म ओपीडी सेवा शुल्क नेपाल चिकित्सक संघले सरोकारवाला निकायसँगको परामर्शको आधारमा तोक्न सकिने मन्त्रिस्तरीय निर्णय भएको थियो। सोही निर्णयलाई अहिले पनि आधार मानेर एनएमएले शुल्क निर्धारण गरेको छ, जुन गलत हो,” डा. साहले भने।
जेठ १ गतेबाट निजी अस्पतालमा एमबीबीएस तथा बीडीएसमा पाँच वर्ष अनुभव भएका चिकित्सकको रु.४२० र पाँच वर्षभन्दा बढी अनुभव भएका चिकित्सकको रु.५१५ शुल्क तोकिएको छ। त्यस्तै, डिप्लोमामा पाँच वर्ष अनुभव भएका चिकित्सकको रु.५९० र पाँच वर्षभन्दा बढी अनुभव भएका चिकित्सकको रु.६७० शुल्क तय गरिएको छ। एमडी/एम/एमडीएस पाँच वर्षको अनुभव भएका चिकित्सकको रु.७५० र सोभन्दा माथि अनुभव भएका चिकित्सकको रु.आठ सय शुल्क तोकिएको छ।
त्यसैगरी, डीएम/एमसीएचमा पाँच वर्ष अनुभव भएका चिकित्सकको रु.८८० र सोही विधामा पाँच वर्षभन्दा बढी अनुभव र एमडी, एमएस र एमडीएसमा १० वर्षभन्दा बढी अनुभव भएका चिकित्सकको रु.९४० शुल्क लिन पाउने एनएमए र अफिनले निर्णय गरेका छन्।
यो निर्णयसँग ओपीडी शुल्क बढ्नेछ। अहिले बिरामीले ओपीडी सेवा लिंदा रु.८२५ सम्मको शुल्क तिर्दै आएका थिए। अब चिकित्सक र अन्य गरी ओपीडी शुल्क एक हजार एक सय रुपैयाँसम्म पुग्नेछ।