‘जनयुद्ध दिवस’ को बिदा खारेज गर्न माग गरिएको रिट सर्वोच्चमा दर्ता हुने
फागुन १ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएको छ।
अदालत प्रशासनको रिट दरपीठ गर्ने निर्णयलाई सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले बदर गरेको निवेदकमध्येका एक कल्याण बुढाथोकीले जानकारी दिए। उनले हिमालखबरसँग भने, “श्रीमान्ले तपाईंहरूको मुद्दा हुने भयो भन्नुभएको छ।”
‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णय विरुद्ध द्वन्द्वपीडितहरू कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरण, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेल, रिता कार्कीले निवेदन दिएका थिए।
सरकारले १७ हजारको ज्यान लिएको द्वन्द्व शुरू भएको दिनमा सार्वजनिक बिदा दिएको विरुद्धमा पाँच वटा रिट दर्ता भएका छन्। राज्य र विद्रोही पक्षबाट पीडितले छुट्टाछुट्टै दर्ता गरेका पाँच वटा रिट चैत १४ मा दरपीठ भएपछि उनीहरूले सर्वोच्चमा निवेदन दर्ता गरेका हुन्।