मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन गठबन्धनको बैठक आह्वान
मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन चैत १४ गते सत्तारूढ गठबन्धनको बैठक बोलाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले गठबन्धनको बैठक बोलाउने सहमति गरेको हो। सोमबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।
तीनै नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको जनाइएको छ। छलफलमा प्रधानमन्त्री दाहालले कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने विषयमा खाका पेश गरेका थिए।
त्यसमा थप छलफल गरेर टुङ्गो लगाउन गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताए। उनका अनुसार, चैत १४ गते अपराह्न ४ बजे सत्तारूढ गठबन्धनको बैठक बस्ने तय भएको छ।
सत्तारूढ गठबन्धन आबद्ध दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। विशेष गरेर साना दलको माग अनुसार मन्त्रालय पुर्याउन प्रधानमन्त्री दाहाललाई सकस भएको छ।
अहिले सत्तारूढ गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी छन्।