एमालेका नेता-कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेता तथा कार्यकर्ता व्यवहारबाट छुट्टिनुपर्ने बताएका छन्।
एमालेको ‘मिशन ग्रासरूट’ अभियानका क्रममा आइतबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राम्रो बोलीवचन नभएको व्यक्ति एमालेको नेता तथा कार्यकर्ता हुन नसक्ने बताए। एमालेका नेता तथा कार्यकर्ताले मदिरा सेवन गर्न नहुने उनको भनाइ थियो।
“बेलुका बाटो सीधा भएर हिंड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ,” अध्यक्ष ओलीले भने, “एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ।”
समृद्ध नेपाल, सुखी नेपाली बनाउने एमालेको अभियान रहेको उनको भनाइ थियो। त्यसका लागि एमालेले शक्ति आर्जन गर्नुपर्ने बताए। यो अभियानबाट एमालेले शक्ति आर्जन गर्ने ओलीको दाबी थियो। उनले भने, “मिशन ग्रासरूट मार्फत एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्छ।”
हरेक वडा, हरेक पालिका, हरेक प्रदेश र संघका सबै निर्वाचनमा ५१ प्रतिशत बढी मत ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको अध्यक्ष ओलीले बताए। त्यसका लागि पार्टीभित्रको अन्तरविरोध हटाउनुपर्नेमा उनको जोड थियो।