माओवादी बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन्।
नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार बसेको पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्री एवं अध्यक्ष दाहालले दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन्।
बैठकमा प्रधानमन्त्री दाहालले गरेको ‘ब्रिफिङ’ बारे बताउँदै माओवादी नेता देवेन्द्र पौडेलले भने, “मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या छैन। गृहकार्य नपुगेकाले ढिला भएको हो, पर्सि (चैत १३)सम्म विस्तार हुन्छ।’
सत्तारूढ गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारबारे सबै दलसँग छलफल गरेर टुङ्ग्याउन प्रधानमन्त्री दाहाललाई जिम्मेवारी दिएका थिए। त्यसका आधारमा प्रधानमन्त्री दाहालले सबै दलका नेतासँग छलफल गरिसकेको माओवादी नेता पौडेलले बताए।
माओवादी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले भने, “प्रधानमन्त्रीले सबै दलसँग छलफल गरिसक्नुभएको छ। भोलि प्रस्ताव तयार गर्नुहुन्छ। गठबन्धनको बैठक बोलाएर प्रस्ताव पेश गर्नुहुन्छ। सकभर भोलि साँझसम्म नभए पर्सि मन्त्रिपरिषद् विस्तार हुन्छ।”
मन्त्रिपरिषद् विस्तारसँगै माओवादी पदाधिकारी बैठकमा तीन विषयमा छलफल भएको थियो। संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने दोस्रो विषय थियो। संसद्मा रहेका सबै दलसँग सहकार्य गरेर प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय भएको पौडेलले बताए।
त्यस्तै, सरकार र पार्टीलाई जोड्ने विषयमा पनि छलफल भएको उनले बताए। जनसरोकारका विषयमा सरकार र पार्टीलाई सँगसँगै लिएर जाने निर्णय भएको पौडेलले जानकारी दिए।
यससँगै प्रदेश सरकारलाई पनि गतिशील बनाउने विषयमा छलफल भएको छ। यसका लागि संघीय सरकारले आवश्यक सहयोग गर्न माओवादी बैठकले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।