नेपाल उद्योग परिसंघको आगामी अध्यक्षमा राजेश अग्रवाल
नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्।
परिसंघको गभर्निङ काउन्सिल समितिले विधान अनुरूप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको जनाएको छ। आगामी वार्षिक साधारण सभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन्। परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ।
डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति एवं विभिन्न समितिमा रहेर काम गरेका अग्रवाल रोजगारदाता परिषद् संयोजक भई २०७४ बाट परिसंघको उपाध्यक्ष थिए।
काठमाडौंमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा संलग्न छन्। आरएमसी ग्रूपका कार्यकारी निर्देशक समेत रहेका अग्रवालको स्वामित्वमा सिमेन्ट, स्टील, खाद्य लगायतका क्षेत्रका व्यवसाय छन्।
परिसंघले उद्योग व्यवसाय क्षेत्रको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशील बनाउँदै लैजाने जनाएको छ। आगामी असारमा परिसंघका वर्तमान अध्यक्ष विष्णु अग्रवालको कार्यकाल सकिएपछि वरिष्ठ उपाध्यक्ष अग्रवाल परिसंघको अध्यक्ष बन्नेछन्।