‘प्रहरीले बोल्न खोज्नेको मुख थुन्न मिल्छ?’
प्रधानमन्त्री पुष्पकमल दाहालसँग बोल्न खोजेका युवामाथि प्रहरीले गरेको ज्यादतीको संसद्मा विरोध भएको छ।
चैत ७ गते नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको कार्यक्रममा पुगेका प्रधानमन्त्री दाहाललाई प्रश्न गर्न खोजेका तीन युवालाई प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको विषयमा विरोध भएको हो।
राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विमला राई पौड्यालले भनिन्, “संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न र बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन?”
यो विषयमा गृह मन्त्रालयले जवाफ दिनुपर्ने पौड्यालको भनाइ छ। प्रहरीले किन ज्यादती गरेको हो त्यसको जवाफ दिनुपर्ने उनको माग छ।
“केही युवा बोल्न खोजिरहेको र प्रहरीले मुख थुनेर, घाँटी ङ्याकिरहेको र लछारपछार गरिरहेको तस्वीर जताततै आइरहेका छन्। यो किन भएको हो?” बैठकमा उनले भनिन्, “यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण पनि गराउन चाहन्छु र जवाफ पनि माग गर्दछु।”