एमालेमा प्रवेश गरे लगत्तै मन्त्री नियुक्त
मधेश प्रदेश सभा सदस्य केशव चौधरी नेकपा (एमाले)मा प्रवेश गरे लगत्तै राज्यमन्त्री नियुक्त भएका छन्।
रौतहट ३ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद चौधरी शुक्रबार एमालेमा प्रवेश गरेका थिए। उनी शुक्रबार नै मधेश प्रदेश सरकारमा गृह तथा सञ्चार राज्यमन्त्री बनेका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नवनियुक्त ६ मन्त्री र तीन राज्यमन्त्रीसँगै चौधरीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
स्वतन्त्र सांसद चौधरीको प्रवेशसँगै मधेशमा एमालेका २५ सांसद पुगेका छन्। गत मंसीर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा एमालेले २३ सीट जितेको थियो।
यसअघि स्वतन्त्र सांसद शारदा शंकर कलवार पनि एमालेमा प्रवेश गरेका थिए। उनी बारा २ ‘क’ बाट निर्वाचित भएका थिए।