सीएमसीमा दुखाइ निवारण क्लिनिक
शरीरका विभिन्न भागमा हुने दुखाइको उपचार गर्न चितवन मेडिकल कलेज (सीएमसी)ले ‘पेन म्यानेजमेन्ट क्लिनिक’ सेवा शुरू गरेको छ।
चिकित्सा क्षेत्रमा पछिल्लो समय अभ्यास हुन थालेको यो सेवा बिरामीका लागि लाभदायक हुने भएकाले शुरू गरिएको कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए। “अहिलेसम्म दुखाइको उपचार सम्बन्धित रोगका विज्ञहरूबाट मात्र हुँदै आएको छ,” लम्सालले भने, “दुखाइको उपचार टीमबाटै हुनुपर्छ भनेर एउटै कार्यक्रमभित्र समेटेका छौं।”
कलेजमा इन्टरभेन्सनल पेन एन्ड स्पाइन स्पेशियलिस्ट डा. रोहित बाल्यानको टोलीले बिरामीको दुखाइ सम्बन्धी उपचार गर्नेछ। हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ, स्त्रीरोग र प्रजनन रोग विशेषज्ञका साथै फिजियोथेरापिस्ट टोलीमा छन्।
दुखाइ व्यवस्थापन चिकित्साशास्त्रका विभिन्न विधामध्ये एक विशिष्ट विधा भएकाले दीर्घकालीन दुखाइको समस्या झेलिरहेका बिरामीले यो सेवा लिन सक्ने डा. बाल्यानले बताए। वर्षौंदेखि दुखाइको कारण मानिसमा चिन्ता, चिडचिडाहट, उदासीनताका समस्या समेत हुने गरेको बताउँदै डा. बाल्यानले भने, “दुखाइको समयमा उपचार नहुँदा मानसिक रोग समेत थपिएका छन्।”
सेवा शुरू गरेको अवसरमा कलेजले आगामी चार वटा शनिबार निःशुल्क परामर्श सेवा सहितको दुखाइ निवारण शिविर सञ्चालन गर्ने निर्देशक प्रा.डा. लम्सालले बताए। जसमा हाडजोर्नी नशा सम्बन्धी समस्या तथा विभिन्न रोगहरूका कारण कम्मर, ढाड, घुँडा, गर्धन, जोर्नी लगायतको दुखाइको उपचार गरिनेछ।
उनका अनुसार, शिविरमा महीनावारी हुँदा वा नहुँदा तल्लो पेट, कम्मर दुख्ने समस्या भएका महिलालाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सविता श्रेष्ठ र डा. रक्षा जोशीले स्वास्थ्य जाँच गरी परामर्श दिनेछन्। यस्तै, ढाड तथा मेरुदण्ड दुख्ने समस्या भएका बिरामीको वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ डा. विष्णुदेव शर्मा, डा. तेजप्रकाश दवाडीले उपचार तथा परामर्श दिनेछन्।
विशेषगरी कामकाजी व्यक्तिलाई लक्षित गरी शनिबार परामर्श सेवा दिन लागिएको उनको भनाइ छ। शिविरमा आउने बिरामीले शल्यक्रिया वा अन्य कुनै उपचार गराउनुपरेमा ५० प्रतिशत छूटको व्यवस्था गरिएको कलेजका निर्देशक लम्सालले बताए।