सांसद अरुणकुमार चौधरी जेल चलान
प्रतिनिधि सभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन्।
कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई शुक्रबार बिहान १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट कैद पुर्जी लिएर उनलाई धनगढी कारागारमा चलान गरिएको हो।
फरार सूचीमा रहेका चौधरीलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाडौं लगेको थियो भने साँझ काठमाडौंबाट धनगढी ल्याएको थियो। चौधरी नौ वर्षदेखि फरार थिए।
गत मंसीर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी कैलाली–२ बाट निर्वाचित भएका थिए। कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरी सहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा गरेका थिए।
२०७० वैशाख ९ मा कैलाली जिल्ला अदालतले चौधरी सहित पर्शुराम र वीरबहादुर गरी तीन जनालाई ६ महीना कैद सजाय सुनाएको थियो। अदालतले पीडितलाई आठ लाख १८ हजार ४२३ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला भएको थियो।