सांसद अरुणकुमार चौधरी पक्राउ
प्रतिनिधि सभाका सदस्य अरुणकुमारी चौधरी पक्राउ परेका छन्।
नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी बिहीबार दिउँसो बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन्। उनलाई सार्वजनिक सम्पत्ति आगजनी गरेको अभियोगमा जिल्ला अदालत, कैलालीले दोषी ठहर गरेको थियो।
उनलाई त्यही मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। चौधरी गत मंसीर ४ गते सम्पन्न निर्वाचनमा कैलाली-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
सम्पत्ती आगजनीमा १० वर्षअघि जिल्ला अदालतले ६ महीना कैद र आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो। तर, फैसला कार्यान्वयन भएको थिएन। चौधरी सांसद भएपछि यो विषय बाहिर आएको थियो।
कोहलपुरमा पक्राउ परेका सांसद चौधरीलाई कैलाली पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।