रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले रवि लामिछानेलाई सभापति चयन गरेको छ।
स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार अपराह्न बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापति चयन गरेको केन्द्रीय सदस्य गणेश कार्कीले बताए। लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेको केही घण्टामै स्वतन्त्र पार्टीले सभापतिको जिम्मेवारी दिएको हो।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गरेको थियो। त्यससँगै उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री र पार्टी सभापति गुमाएका थिए।
लामिछानेले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। उनले पुनः नागरिकता प्राप्त गरेसँगै स्वतन्त पार्टीको केन्द्रीय समिति बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो।