सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय
नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्न पाउने उच्च अदालत पाटनको आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछानेलाई थुनामै राखेर मुद्दा छिन्नुपर्ने माग सहित सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय भएको बताए। “पुनरावेदन गर्ने टुङ्गोमा पुगेका छौं। साथीहरूले पुनरावेदनको मस्यौदा तयार गरिरहनुभएको छ,” रेग्मीले हिमालखबरसँग भने।
पुस २८ गते उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई शर्त सहित धरौटीमा छोडेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो। त्यसपछि लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका छन्।
अदालतमा पीडितको बकपत्र सकिएको, आरोपबारे प्रमाणहरू भेला पारिसकिएको, थुनामुक्त हुँदा कसैको ज्यान तल-माथि नहुने लगायतका १६ वटा कारणको विवेचना गर्दै इजलासले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी लिएर छोड्न भनेको थियो।
मुद्दाको फैसला नभएसम्म विदेश जान नपाउने, काठमाडौं उपत्यका छोड्न प्रहरीको लिखित अनुमति लिनुपर्ने, प्रहरीले सन्दीपको टेलिफोनका विवरण (एसएमएस, कल डिटेल लगायत)को अभिलेख राख्न टेलिफोन ‘इन्टरसेप्सन’ समेत गर्न सक्ने जस्ता शर्त उच्च अदालतले तोकेको थियो।
पीडित, उनको परिवार र यस मुद्दाको विषयमा सार्वजनिक टिप्पणी गर्न पनि अदालतले सन्दीपलाई रोक लगाएको छ। यस्ता शर्त पालना नगरेमा सन्दीपलाई फेरि थुनामा पठाइने पनि आदेशमा उल्लेख छ।
सन्दीप विरुद्ध १७ वर्षीया बालिकालाई जबर्जस्ती गरेको भन्दै १० देखि १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पीडित बालिकालाई उचित क्षतिपूर्तिको माग सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालतले गत कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएर मुद्दाको सुनुवाइ गरिरहेको छ। पुर्पक्षमा पठाउने निर्णय विरुद्ध सन्दीप उच्च अदालत गएका थिए।
सन्दीपले नाबालिकालाई गत भदौ ५ गते दिउँसो भक्तपुरको नगरकोट लगेर राति गौशालाको एक होटलमा पुर्याएर बलात्कार गरेको आरोप छ। सन्दीपले बलात्कारको आरोप अस्वीकार गरे पनि नगरकोट घुम्न गएको, होटलमा रात बिताएको चाहिं स्विकारेका छन्। तर, यौनसम्बन्ध भने नराखेको भन्दै आफ्नो बचाउ गरिरहेका छन्।
होटलमा रहेको सीसीटीभी फूटेजले समेत सन्दीपले बालिकासँग होटलमा रात बिताएको पुष्टि गर्छ। प्रहरीले १२ वटा सीसीटीभी फूटेज पनि प्रमाणका रूपमा राखेको छ।
घटनास्थलमा दुवै जना उपस्थित भएको यसबाट पनि पुष्टि हुन्छ। सन्दीपले पीडित बालिकालाई ‘मायाको पहिलो स्वागत शुरू’ भनेर स्न्यापच्याटमा पठाएको भिडिओ सन्देश, टेलिफोनको कल डिटेल रिपोर्ट (सीडीआर)लाई पनि प्रमाणका रूपमा मुद्दामा समेटिएको छ।
बालिकाले आफूलाई २२ वर्षे सन्दीपले दिउँसोको समयमा नगरकोट लगेर रातितिर काठमाडौं ल्याएर परिबन्दमा पारी होटलमा पुर्याएर उक्त रात दुई पटक बलात्कार गरेको अनुसन्धान अधिकारी र अदालतमा एकै व्यहोराको बयान दिएकी छन्।