रवि लामिछानेले फेरि लिए नागरिकता
रवि लामिछानेले फेरि नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।
आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट कानून बमोजिम पुनः नागरिकता लिएका हुन्। नागरिकता ऐन अनुसार, उनलाई पुनः नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
उनले २०५० सालमा वंशजका आधारमा नागरिकता लिएका थिए। त्यसपछि उनले अमेरिकी नागरिकता लिएका थिए। नेपाल आएपछि लामिछानेले २०७५ सालमा अमेरिकी नागरिकता त्यागेका थिए।

तर, पुनः नेपाली नागरिकता लिएका थिएनन्। उनले पुरानै नागरिकता प्रयोग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चितवन–२ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेका थिए। गत मंसीर ४ गते भएको चुनावमा उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। स्वतन्त्र पार्टी सरकारमा सहभागी भएपछि उनी गत पुस ११ गते गृहमन्त्री नियुक्त भएका थिए।
यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। माघ ११ गते त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो। त्योसँगै उनले पार्टी सभापति र उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए।
आज उनले पुनः नागरिकता लिएका हुन्। उनलाई २०५० सालमा लिएको नागरिकताको प्रमाणपत्रको विवरणकै आधारमा नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ।
