स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्।
सर्वोच्च अदालतको फैसलाअनुसार, रवि लामिछानेको सभापति गुमेपछि स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले अर्याललाई कार्यवाहक सभापति चयन गरेको हो। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले अर्काृे व्यवस्था नहुँदासम्मका लागि उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता मुकुल ढकालले जनाएका छन्।
त्यस्तै, स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा संसदीय दलको नेताको जिम्मेवारी पनि अर्याललाई दिएको छ। सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि संसदीय दलको नेताको पद पनि गुमेको थियो।
स्वतन्त्र पार्टीले सर्वोच्चको आदेशको फैसलाको सम्मान गर्ने जनाएको छ। यससँगै सर्वोच्चको आदेशअनुसार नै पार्टीका कामकारबाही अगाडि बढाउने भएको छ।
स्वतन्त्र पार्टीले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित रही बिधि र कानूनको सम्मान गर्न अनुरोध गरेको छ। शुक्रबार नै कार्यकर्ताले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेपछि स्वतन्त्र पार्टीले त्यस्तो नगर्न आग्रह गरेको हो।
नागरिकता सम्बन्धी मुद्दामा शुक्रबार फैसला सुनाउँदै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो। उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएकाले प्रतिनिधि सभा सदस्यका लागि योग्य नभएको सर्वोच्चको ठहर थियो। सर्वोच्चको फैसलाअनुसार, लामिछानेले सांसद, उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद गुमाएका छन्।