गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा बहस शुरू
गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस शुरू भएको छ।
सर्वोच्चका कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बहस शुरू भएको हो। यसअघि माघ ११ मा पनि यस मुद्दामा बहस भएको थियो। पहिलो दिन बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।
यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण र सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू अमृत खरेल र निकिता ढुंगानाले बहस गरेका थिए। त्यस्तै, सरकार तथा गृहमन्त्री लामिछानेका तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए।
लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको भन्दै अधिवक्ता रविराज बासुला र युवराज पौडेलले मंसीर २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा अमेरिकी नागरिकता लिएपछि लामिछानेको नेपाली नागरिकता स्वतः बदर भएको र उनी नेपाल फर्केपछि पुरानै नागरिकताले पार्टी दर्ता गरेको तथा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेको उल्लेख गरिएको छ।
लामिछानेले नेपालको नागरिकता त्यागिसकेको र फेरि नागरिकता प्राप्त नगरी पुरानै नागरिकता प्रयोग गरेकाले उम्मेदवार हुन अयोग्य रहेको उनीहरूको जिकिर छ। रिटमा नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ।
प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ बाट उम्मेदवार बनेका लामिछाने विरुद्ध त्यतिवेलै निर्वाचन आयोगमा उजुरी परेको थियो। लामिछाने विरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको थियो। उनले मंसीर ६ गते लिखित स्पष्टीकरण दिएका थिए।
उनले बुझाएको स्पष्टीकरण निर्वाचन अधिकृतको कार्यालय, चितवनले मंसीर ८ गते निर्वाचन आयोग, काठमाडौंमा पठाएको थियो। त्यसको भोलिपल्ट मंसीर ९ गते चुनावी परिणाम घोषणा भएको थियो। आयोगले त्यसपछि अदालतको विषय भन्दै कुनै कारबाही अघि बढाएको थिएन।
उनको नागरिकताका विषयमा गृह मन्त्रालयमा पनि उजुरी परेको थियो। त्यसमा गृह मन्त्रालयले अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्राचार गरेको थियो।
जिल्ला प्रशासनले कार्यालयले काठमाडौं प्रहरी परिसरलाई पत्र पठाएर अनुसन्धान थाल्न निर्देशन दिएको थियो। प्रहरीले पनि उनको नागरिकता विवादमा अनुसन्धान अघि बढाएको थियो। तर, उनी पुस ११ गते गृहमन्त्री नियुक्त भएपछि भने नागरिकतामाथिको अनुसन्धान रोकिएको छ।
अब यो मुद्दा सर्वोच्चबाटै टुङ्गोमा पुग्नेछ। आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेको मुद्दा मात्रै पेशीमा छ।