राष्ट्रपतिमा कांग्रेस सहित राष्ट्रिय सहमति गर्नुपर्नेमा माओवादीको जोड
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेस सहित राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएको छ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा राष्ट्रपतिको निर्वाचन लगायत विषयमा छलफल भएको हो। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिइएको बताए।
पौडेलले भने, “राष्ट्रपतिमा संविधानले व्यवस्था गरे अनुरूप साझा व्यक्तित्वलाई अघि सार्न सक्यौं भने सम्भावित भोलि हुने दुर्घटना रोक्न, संविधानको रक्षा, मिश्रित बनावटको संसद्लाई पाँच वर्षसम्म सकुशल लैजान राष्ट्रिय सहमतिका आधारमा अघि बढौं भन्ने हो।”
सबै दलबीच राष्ट्रिय सहमति गर्नुपर्ने उनको भनाइ थियो। “कांग्रेस र एमाले बाहेक राष्ट्रिय सहमति हुन सक्दैन। दुवै ठूला पार्टीलाई समेटेर साझा व्यक्तिमा राष्ट्रिय सहमति गरौं भन्ने हो,” पौडेलले भने।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए। अध्यक्ष दाहालले मौखिक र लिखित रूपमा प्रतिवेदन पेश गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए। माओवादी स्थायी समिति बैठक शुक्रबार पुनः बस्नेछ।