राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए। बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता महतले भने, “राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले अरू दलको पनि सहयोग लिएर प्रस्तुत हुने निर्णय गरेको छ।”
राष्ट्रपतिको पदावधि सकिन एक महीनाअघि नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि फागुन २९ गते सकिंदै छ। त्यसको एक महीनाअघि माघ २९ भित्र चुनाव गर्नुपर्ने कानूनी व्यवस्था छ।
त्यसै विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बसेको हो। बैठकमा राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको प्रवक्ता महतले बताए।
राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवार उठाउने र यसमा अन्य दलको समर्थन जुटाउन छलफल गर्ने पनि निर्णय भएको उनले बताए। “प्रधानमन्त्रीको दल, संसद्मा सहभागी अन्य दलको समर्थन लिन छलफल गर्ने निर्णय भएको छ,” प्रवक्ता महतले भने, “सबै दलसँग छलफल गरेर राष्ट्रपतिमा समर्थन माग्छौं।”
यससँगै कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएको छ। यसका लागि सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको प्रवक्ता महतले बताए।