छिमेकीका चासो र चिन्तालाई यथोचित सम्बोधन गरी अघि बढ्नुपर्छ: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालले सबै राष्ट्रसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताएका छन्।
एमालेको परराष्ट्र विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय स्तरमा नेपालले सन्तुलित र विश्वसनीय शक्तिका रूपमा स्थापित हुने गरी सम्बन्ध कायम राख्नुपर्ने बताए। “हामीले दुई वटा छिमेकीसँग स्पष्ट र भरपर्दो सम्बन्ध बनाउनुपर्छ, बोल्ने एउटा र व्यवहार अर्को गर्नु हुँदैन,” ओलीले भने, “असल छिमेकी बन्नका लागि भलो चिताएर, उनीहरूका चासो, चिन्तालाई समेत यथोचित सम्बोधन गरी अघि बढ्नुपर्छ।”
नेपालको सार्वभौमसत्तामाथि अतिक्रमण हुन नदिने र देशको सार्वभौमसत्ता, स्वाधीनता कसैलाई प्रयोग गर्न दिन नहुने उनको भनाइ थियो। “नेपालमा कुनै प्रकारका सैनिक राख्न दिंदैनौं, तर नेपालले सबैसँग मित्रता राखेको छ, कसैसँग पनि शत्रुता राखेको छैन,” उनले भने।
नेपालले कुनै पनि हिसाबले युद्धलाई साथ र समर्थन नगर्ने तथा संसारमै युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिनुपर्ने उनले बताए। “युद्ध भएका ठाउँमा वार्ताको माध्यमबाट अन्त्य गरिनुपर्छ, सबै देशहरू सार्वभौमसत्ता सम्पन्न छन्,” ओलीले भने।
नेपालले कूटनीतिक सम्बन्ध बलियो रूपमा अघि बढाउनुपर्ने उनले बताए। पारस्परिक लाभ तथा सम्मानका आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्ने नेपालको परराष्ट्र सम्बन्ध नीति सञ्चालन गर्ने आधार भएको आलीको भनाइ थियो।