नगद मार्जिन राख्नुपर्ने प्रावधान खारेज, आयात सहज हुने
विदेशबाट सामान आयात गर्दा ब्यांकमा शुरूमै नगद जम्मा गर्नुपर्ने (नगद मार्जिन) व्यवस्थालाई नेपाल राष्ट्र ब्यांकले खारेज गरेको छ।
केन्द्रीय ब्यांकले बिहीबार विदेशी विनिमय सम्बन्धी यसअघिको परिपत्रलाई संशोधन गर्दै नगद मार्जिन सम्बन्धी प्रावधान हटाएको हो। यो व्यवस्थासँगै विदेशबाट सामान आयात गर्न सजिलो हुनेछ।
व्यवसायीले नगद मार्जिनको प्रावधान हटाउन माग गर्दै आएका थिए। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नगद मार्जिन हटाउन सुझाव दिंदै आएको थियो।
केन्द्रीय ब्यांकले २०७८ पुस र माघमा गरी ४७ समूहका वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा शुरूमै ब्यांकमा नगद राख्नुपर्ने व्यवस्था गरेको थियो। उच्च आयातले विदेशी मुद्रा सञ्चिति खस्किएर अर्थतन्त्र नै हल्लिएपछि केन्द्रीय ब्यांकले आयात निरुत्साहित गर्न भन्दै यस्तो कडाइ गरेको थियो। यसले वस्तु आयातलाई घटाएको थियो।
केन्द्रीय ब्यांकको नयाँ संशोधनसँगै अब वस्तु आयातमा नगद मार्जिन राख्नुपर्ने स्थिति हटेको छ। पछिल्लो समयमा विदेशी मुद्राको सञ्चितिमा सुधार हुन थालेपछि आयात सजिलो बनाउन केन्द्रीय ब्यांक लचक भएको हो।
