गठबन्धनप्रति असन्तुष्ट सीके राउतले भने- मधेशले प्रतिकार गर्नेछ
जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्तारूढ गठबन्धनलाई नश्लवादीको झुण्ड भन्दै असन्तुष्टि जनाएका छन्।
सत्तारूढ गठबन्धनमा रहेको जनमत पार्टीले दुई वटा मन्त्रालय मागेको थियो। शुरूआतमै जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनेका थिए।
तर, माघ ३ गते गरिएको मन्त्रिपरिषद् विस्तारमा खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीका अध्यक्ष राउतले मधेशी र थारूलाई दमन गर्न खोजेको आरोप लगाए।
बुधबार साँझ सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ राख्दै राउतले भनेका छन्, ‘कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा, जनमत, नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो।’
उनले सत्तारूढ गठबन्धनलाई नश्लवादी झुण्ड भनेका छन्। ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्,’ राउतले लेखेका छन्, ‘मधेशले यसको प्रतिकार गर्नेछ। सडक र आन्दोलनको विकल्प हामीसँग सधैं खुला नै छ।’